काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्थको चौथो संसोधन प्रस्तुत गरेको छ ।
हायर पर्चेज कर्जा भन्नाले कृषि, औद्योगिक, व्यवसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेशिनरी औजार, उपकरण खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुने गरी प्रदान गरिएको कर्जा वा सापटी सम्झनु पर्ने छ ।
संसोधित व्यवस्था अनुसार दर्ता तथा स्वीकृति अन्र्तगत हायर पर्चेज कर्जा दिन स्वीकृतिका लागि आवेदन दिने कम्पनी सोही उद्देश्य सहित अनिवार्यरुपमा कम्पनी ऐन, २०६३ अन्तर्गत हायर पर्चेज कर्जा दिने कम्पनीको रुपमा पहिचान दिने किसिमको कम्पनीको रुपमा दर्ता भएको हुनु पर्नेछ । त्यस्तो कम्पनीले नेपाल राष्ट्र बैंक ऐनको दफा ७६ बमोजिम नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृति लिनुपर्ने उक्त व्यवस्थामा उल्लेख छ ।
यो निर्देशन जारी गर्नुपूर्व संचालनमा रहेका हायर पर्चेज कर्जा दिने कम्पनीले समेत यसै निर्देशनबमोजिम नाम परिवर्तन गरी यस बैंकलाई २०८० पुष मसान्तभित्र जानकारी गराउनु पर्ने राष्ट्र बैंकको भनाई छ ।
उक्त व्यवस्था अनुसार हायर पर्चेज कर्जा दिने कम्पनीको न्यूनतम चुक्ता पुँजी ३० करोड रुपैंयाँ हुनुपर्ने छ । हायर पर्चेज कर्जा दिने कम्पनीले स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष तोकिएको चुक्ता पँुजीको शुन्य दशमलव दुई प्रतिशतले हुने रकम बराबर स्वीकृति दस्तुर (फिर्ता नहुने) यस बैंकमा बुझाएको भौचर सहित विवरण तथा कागजातहरु समेत संलग्न गरी निवेदन दिनुपर्नेछ ।
यसैगरी हायर पर्चेज कर्जा दिन स्वीकृतिका लागि कम्पनीले राष्ट्र बैंक समक्ष निवेदन दिँदा कम्पनीको संचालक समितिले देहायका विषयहरुमा प्रतिबद्धता जाहेर गरेको कागजात पनि निवेदनको साथ पेश गर्नुपर्नेछ । हायर पर्चेज कर्जा दिन स्वीकृतिका लागि कम्पनीले राष्ट्र बैंक समक्ष निवेदन दिँदा कम्पनीको संचालक समितिले प्रतिबद्धता जाहेर गरेको कागजात पनि निवेदनको साथ पेश गर्नुपर्नेछ ।
नेपाल राष्ट्र बैंकले समय समयमा तोकिदिए बमोजिमको न्यूनतम चुक्ता पँुजी कायम राख्ने व्यहोरा, कारोवार संचालन गर्न आवश्यक पूर्वाधार तयार गरी सेवा तथा सुविधा प्रदान गर्न सक्ने पर्याप्त आधार रहेको व्यहोरा, र हायर पर्चेज कर्जा दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेका शर्तहरु पालना गर्ने मन्जुरी लिएको हुनुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार हायर पर्चेज कर्जा दिने कम्पनी सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारका अतिरिक्त देहायका कुरामा आवश्यक जाँचबुझ गरी नेपाल राष्ट्र बैंक सन्तुष्ट भएमा त्यस्तो कम्पनीलाई हायर पर्चेज कर्जा दिन स्वीकृति दिन सकिने छ ।
हायर पर्चेज कर्जा दिन स्वीकृति दिँदा सो कारोवार स्वस्थ, प्रतिस्पर्धात्मक र प्रभावकारीरुपमा हुन्छ भन्ने लागेमा, प्रचलित कानुन र सो अन्तर्गत बनेको नियम, विनियम वा सो अन्तर्गत जारी भएका आदेश वा निर्देशन तथा प्रबन्धपत्र र नियमावलीका अधीनमा रही हायर पर्चेज कर्जा दिन सक्षम छ भन्ने लागेमा, स्वीकृतिको लागि दिएको निवेदनसाथ संलग्न विवरण तथा कागजात अनुसार कम्पनी हायर पर्चेज कर्जा दिन सक्षम छ भनी विश्वास गर्ने पर्याप्त आधार भएमा, कम्पनीले हायर पर्चेज कर्जा दिने स्वीकृति पाएको मितिले ६ महिनाभित्र त्यस्तो कारोवार शुरु गरिसक्नु पर्नेछ । अन्यथा त्यस्तो कम्पनीलाई कारोवार गर्न प्रदान गरिएको स्वीकृति स्वतः रद्द हुने व्यवस्था रहेको छ ।
राष्ट्र बैंकका अनुसार बैंक वा वित्तीय क्षेत्रको विद्यमान अवस्था र सम्भाव्यताको आधारमा त्यस्तो कम्पनीलाई स्वीकृति दिन उपयुक्त हुने नदेखिएमा, हायर पर्चेज कम्पनीको उपस्थिति बढी भएको क्षेत्रमा कम्पनी स्थापनाका लागि नयाँ निवेदन आएमा सो अस्वीकार गर्न सक्ने छ ।
हायर पर्चेज कर्जा दिन निवेदनसाथ पेश गरिएका विवरणहरु पर्याप्त वा विश्वसनिय नदेखिएमा, कुनै कम्पनीलाई हायर पर्चेज कर्जा दिन स्वीकृति दिन नसकिने अवस्था भएमा नेपाल राष्ट्र बैंकले सोको कारण खुलाई निवेदन परेको मिति वा थप विवरण माग गरेको भए त्यस्तो विवरण प्राप्त भएको मितिले एक सय २० दिन भित्र सम्बन्धित कम्पनीलाई सूचना दिनुपर्नेछ ।
उक्त व्यवस्था अनुसार बैंकले हायर पर्चेज कर्जा दिन दिएको स्वीकृति प्रत्येक दुई आर्थिक वर्षमा आर्थिक वर्ष समाप्त भएपछिको साउन मसान्तसम्ममा नवीकरण गरी सक्नु पर्नेछ । हायर पर्चेज कम्पनीको लागि आवेदन दिएका कम्पनीहरु मध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको वा कालोसूचीबाट हटेको तीन वर्ष नपुगेको शेयरधनी रहेको कम्पनीको निवेदन उपर नेपाल राष्ट्र बैंकले कारवाही अगाडि बढाउने छैन ।
हायर पर्चेज कर्जा दिने कम्पनीहरुले आफ्नो खुद सम्पत्तिको १० गुणा भन्दा बढी ऋण तथा सापटी लिन पाउने छैनन् । यस प्रयोजनको लागि खुद सम्पत्ति भन्नाले चुक्ता पँुजी, स्वतन्त्र कोषहरु र नाफा नोक्सान मौज्दातको कुल रकमलाई बुझाउनेछ । कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत ब्याजदर अन्तर कायम गर्नुपर्नेछ । कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्नेछ ।
कम्पनीले कर्जा प्रवाह गर्दा ऋणीसँग अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ । तर रु. २५ लाख वा सो भन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट स्थायी लेखा नम्बर लिन अनिवार्य हुनेछैन । कम्पनीले एउटै ग्राहक, फर्म, कम्पनी वा समुहलाई प्रदान गर्न सक्ने कर्जाको सीमा अघिल्लो त्रयमासको खुद सम्पत्तिको बढीमा ३० प्रतिशतसम्म कायम गरिएको छ । हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिंदा ब्याज बाहेक अन्य शुल्क तथा दस्तुर लिन पाउने छैन । साथै, कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर दुई प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्नेछ ।
पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न पाइने छैन ।
राष्ट्र बैंकले कम्पनीको ब्याजदर निर्धारण सम्बन्धमा आवश्यक देखिएमा समय समयमा त्यस्तो ब्याजदर सम्बन्धी नीतिगत व्यवस्था गर्न सक्नेछ ।
यसरी नेपाल राष्ट्र बैंकबाट भएको ब्याजदर सम्बन्धी व्यवस्था पालना गर्नु सम्बन्धित कम्पनीको कर्तव्य हुनेछ ।
राष्ट्र बैंकका अनुसार हायर पर्चेज कर्जा दिने कम्पनीले आफुले प्रवाह गरेको कर्जा रकम फिर्ता गर्नका लागि कर्जा भुक्तानी तालिका तयार गरी लागु गर्नु पर्नेछ ।
यस्तो तालिका बमोजिम किस्ता रकम यथासमयमा प्राप्त नभएमा बाँकी बक्यौता रकमको नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । हायर पर्चेज कर्जा दिने कम्पनीले हायर पर्चेज कर्जा बाहेक अन्य कुनै पनि प्रकारका कर्जा प्रवाह गर्न तथा अन्य कुनै पनि व्यापार व्यवसाय गर्न पाउने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया