बारामा एसईई परीक्षार्थीमाथि प्रहरीको लाठ्ठी चार्ज

काठमाडौं । प्रदेश २ मा माध्यमिक शिक्षा (एसईई) परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप भएको छ । 

बाराको जीतपुर–सिमरा उपमहानगरपालिका ७ जीतपुरमा विद्यार्थी र प्रहरीबीच झडप भएको हो । झडपमा प्रहरी जवान निरु श्रेष्ठ र केही विद्यार्थीहरु घाइते भएका छन् ।

प्रदेश २ मा मात्र एसईई स्थगित गरेको विरोधा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले केही सवारी साधनमा आगजनी र तोडफोडसमेत गरेका छन् । 

विद्यार्थीहरुले प्रहरीको गाडीमा ना १ झ ७१२ आगजनी गरेका छन् ।

विद्यार्थीहरुले वीरगञ्ज–पथलैया सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । स्थति तनावपूर्ण बनेपछि प्रहरीले केही थान अश्रु ग्यास प्रहार गरेको छ । 

विद्यार्थीहरुको प्रदर्शनका कारण बिहान ७ बजेदेखि नै राजमार्ग अवरुद्ध छ ।

अहिले आक्रोशित विद्यार्थीहरुको भिड नियन्त्रण गर्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुवास हमाल ठकुरीले जानकारी दिए ।

यही चैत १० गतेबाट शुरु भएको एसईई परीक्षाको प्रश्नपत्र एकपछि अर्को गर्दै बाहिरिन थालेपनि शिक्षा मन्त्रालयले प्रदेश २ को एसईई परीक्षा अन्तर्गत बाँकी रहेको सबै परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ भने अन्य ६ प्रदेशमा भने एसईई परीक्षा सञ्चालन भइरहेको छ । 

यही चैत १० गतेदेखि शुरु भएको एसईई परीक्षा अन्तर्गत विज्ञान, सामाजिक र अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको परीक्षाका कारण यतीबेला प्रदेश २ का विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ ।

एसईईका विद्यार्थीहरु आफ्नो भविष्यमाथि सरकारले खेलवाड गरेको भन्दै सडकमा उत्रिएको छ भने सरकारले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ । 

सयैबीच शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रदेश २ मा प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जिम्मा दिइसकेको छ भने जिम्मेवारी पाएसँगै शुक्रवारदेखि नै सीआईबीले आनुसन्धान थालिसकेको छ ।

त्यस्तै शुक्रवार सञ्चालन भएको अनिवार्य सामाजिक शिक्षाको विषयको प्रश्नपत्र भने शिलबन्दी गरिएको कपडा ब्लेडले काटेर प्रश्नपत्र चोरी गरिएको थियो । परीक्षा शुरु हुनु अगावै बाहिरिएको सामाजिक विषयको प्रश्नपत्रसँगै क्यामरामा कैद भयो ब्लेड । प्रश्नपत्र चोरी गर्ने क्रममा हतारमा फोटो खित्दा ब्लेड पनि आएको हुन सक्ने शंका गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?