काठमाडौं । पुर्वाधार बिकास बैैंकले ऋणीलाई कालोसूचीमा राख्नुअघि ९० दिनको समय दिनुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार पुर्वाधार बिकास बैंकको नाउँमा जारी गरिएको एकीकृत निर्देशन २०८० मा संशोधन, परिमार्जन तथा थप गर्दैै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
परिपत्रमार्फत कर्जा/सुविधा उपलब्ध गराउनको लागि जमानत दिने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाको हकमा राष्ट्र बैंकले भनेको छ, ‘जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ । सो सूचना अवधिपश्चात मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ । लिखित सूचनाको पत्र सम्बन्धित व्यक्तिको ठेगानामा नपुगेमा सो सूचना पत्रिकामा सार्वजनिक गर्नु पर्नेछ ।’
यसअघि भने कर्जा/सुविधाको लागि जमानत दिने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाको हकमा जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व निजले जमानी दिएको रकम चुक्ता गर्न पूर्वाधार विकास बैंकल संस्थाले ३५ दिनको लिखित सूचना दिनु पर्ने, लिखित सूचनाको पत्र सम्बन्धित व्यक्तिको ठेगानामा नपुगेमा सो सूचना पत्रिकामा सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको थियो ।
परिपत्र अनुसार जे.भी. को हकमा भने जे.भी. मा आवद्ध कुनै फर्म वा कम्पनी कालोसूचीमा परेको कारणले मात्र सोही जे.भी. मा आवद्ध अन्य फर्म वा कम्पनीहरुलाई कालोसूचीमा राख्न अनिवार्य हुने हुने छैन ।
यसैगरी कालोसूचीमा परेकालाई ऋण सुविधा प्रदान गरेमा जरिवाना लगाइने कालोसूचीमा परेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाहरुलाई ऋण/सुविधा प्रवाह गरेमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९९ (१) बमोजिम उक्त ऋण सुविधा बराबरको रकम विगो कायम गरी जरिवाना गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । तर, कालोसूचीमा नरहेको कुनै फर्म वा कम्पनी अर्को कुनै कालोसूचीमा समावेश भएको फर्मवा कम्पनीसँग जे.भी.मा रहेको कारणले मात्र उक्त जे.भी. को निक्षेप खाता संचालन गर्न तथा कर्जा कारोबार गर्न बाधा पर्नेछैन ।
पूर्वाधार विकास बैंकले असोज मसान्त पश्चात स्वीकृत हुने तथा फाईनान्सियल क्लोजर हुने कर्जाको ब्याज पूँजीकरणको लेखांकन सम्बन्धमा भने प्रोदभावी आधारमा लेखांकन गरिएको ग्रेस अवधिको ब्याजलाई पुँजीकरण गर्दा पुँजीकृत ब्याज रकमलाई इन्ट्रेष्ट क्यापिटलाईज्ड टर्म लोन (आईसिटिएल) शीर्षकमा छुट्टै लेखांकन गर्नुपर्नेछ ।
आईसिटिएलमा लेखांकन भएको पुँजीकृत ब्याज बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकीे रकमलाई सञ्चित मुनाफा खर्च गरी इन्ट्रेष्ट क्यापिटलाईज्ड रिर्भस (आईसिआर) खातामा लेखांकन गर्नु पर्नेछ । यसरी लेखांकन भएको इन्ट्रेष्ट क्यापिटलाईज्ड रिर्भस (आईसिआर) लाई नियमनकारी कोष अन्तर्गत राख्नुपर्नेछ ।
आईसिटिएलमा लेखांकन भएको पुँजीकृत ब्याज रकम प्राप्त भएपश्चात उक्त रकमलाई आईसिआरबाट घटाई संचित मुनाफा हिसाबमा सार्दे लानुपर्दछ । तर ब्याज पुँजीकरण गरिएको परियोजना व्यावसायिकरुपमा सञ्चालनमा आएको अवस्थामा आईसिटिएलमा रहेको सम्पूर्ण रकमलाई आईसिआरबाट घटाई संचित मुनाफा हिसाबमा सार्न सकिने परिपत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया