गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै चौंथो दल बनेको रास्वपाले पुराना राजनीतिक दलको भोट बैंक तोड्दै आफूलाई बलियो राजनीतिक शक्तिका रुपमा स्थापित गर्यो । प्रत्यक्षमा ७ र समानुपातिकबाट १३ सिट जितेको रास्वपाको मधेशमा भने उपस्थिति शून्य प्रायः रह्यो ।
मधेशका २५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका रास्वपाका उम्मेदवारहरु प्रतिस्पर्धामै आउन सकेनन् ।
यहीबीचमा गत वैशाख १० गते चितवन–२, तनहुँ–१ सहित बारा–२ मा उपनिर्वाचन भयो । जसमा रास्वपाले चितवन र तनहुँमा पासा पल्टाउँदा बारा–२ भने उत्तानो पर्यो । चितवनमा रबि लामिछाने तनहुँमा स्वर्णीम वाग्ले भारी मतले विजयी हुँदा बाराका रमेश खरेलले जमानतसमेत जोगाउन सकेनन् । ६९ हजार २२ मत खसेको बारा–२ मा खरेलले २ हजार ८ सय २९ मतमात्र पाए । हो, यही मतले मधेशमा रास्वपाको अवस्थाको यथार्थ चित्रण गर्छ ।
मधेशमा आफ्नो अवस्थालाई राम्ररी बुझेको रास्वपाको झम्बो टोली यतिबेला मधेश ओर्लिएको छ । मिसन ०८४ को नारा घन्काउँदै हिँडेको रास्वपाले महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक राख्दै महत्वपूर्ण एजेण्डासमेत पास गर्यो । आफूलाई मधेशमा मसिहा भनेर कुर्लिने राजनीतिक दलका कार्यशैलीबाट आजित भएका मधेशी जनतालाई रास्वपाको यो उपस्थितिले बेग्लै रक्तसञ्चार गराइरहेको छ । मौकाको खेती राम्ररी गर्न जानेका रास्वपा सभापति रवि लामिछानेले मधेशी जनताको मन जित्नकै लागि महत्वपूर्ण बैठकलाई मधेश केन्द्रीत गराएका हुन् भन्ने बुझ्न धेरै समय लाग्दैन ।
यही मौकामा लामिछानेले मधेशी जनतासामू आफू इमानको कुम्लो बोकेर मधेश झरेकोसमेत बताए । गत शनिबार रौतहटस्थित गौरमा भएको जनसभामा बोल्दै लामिछानेले भने, ‘हामीसँग केही छ भने त्यही एउटा इमान छ । त्यही एउटा इमान बोकेर म मधेश झरेको छु । मैले दिनुपर्ने चिज केही पनि छैन । एउटा इमान बोकेर आएको छु, इमानदार मान्छेहरूको साथ खोजेको छु । जब इमानदार मानिस साथमा हुन्छन्, त्यतिखेर बस्तीमा उज्यालो आउँछ ।’
के मधेश, के पहाड, के हिमाल । यतिबेला पुराना राजनीतिक दलका नेताहरुको कार्यशैलीप्रति आमनागरिकमा वितृष्णाको चाँङ बढ्दै गएको छ । यही चाँङलाई कुल्चिएर यतिबेला रास्वपा मधेशी जनताको मन जित्न उद्धत देखिन्छ ।
रास्वपाको नीति, सिद्धान्त र आगामी मार्गचित्र स्पष्ट नभएको भन्दै विभिन्न कोणबाट आलोचनासमेत हुने गरेको छ । तर, सभापति लामिछानेले इमान देखाएर यतिबेला मधेशी जनतालाई आफ्नो पक्षमा पारिरहेका छन् ।
यही मौकामा रबिले मधेशी दललाईसमेत हिलो छ्याप्न भ्याए । ‘मधेशको मुहार फेर्छु भन्ने मधेशका नेताले आफ्नो र छोराछोरीको मुहार फेरे, तर जनताको मुहार फेर्न सकेनन्,’ वीरगन्जको सभामा बोल्दै लामिछानेले भनेका थिए, ‘रास्वपाले एकपटक बहुमतको सरकार बन्यो भने सबै जनताको मुहारमा खुशी ल्याएरै छाड्छौँ ।’
रास्वपाका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्याल आफूहरुबाट कहिल्यै पनि जनतामाथि धोका नहुने बताउँछन् ।
एकै भूगोलमा भएपनि भाषिक र साँस्कृतिक वातावरणका कारण त्यहाँ माटो सुहाउँदो रास्वपा हुन सक्छ कि सक्दैन भन्ने चासोको विषय बनेको छ । तर, सोचे जस्तो साँस्कृतिक रुझानमा रास्वपा रुमल्लिन नपरेको अर्यालको दाबी छ ।
तीन दिन तराईका जिल्लामा घुमेका रास्वपा नेताहरुले त्यहाँको समस्याबारे आफूहरु सजग र सचेत रहेको सन्देश दिन खोजेका छन् । मधेशको शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवा पाउनबाट बञ्चित जनताका समस्यालाई अब रास्वपाले सम्बोधन गर्ने अर्याल बताउँछन् ।
अन्य राजनीतिक दलले जनताको मुद्दा स्थापित गर्न नसकेको कारण रास्वपाले त्यसको फाइदा लिनसक्ने कतिपय राजनीतिक विश्लेषकहरुको बुझाइ छ । तर केही मुद्धामा रास्वपा स्पष्ट नहुँदा अन्य राजनीतिक दलजस्तै रास्वपाले पनि आफ्नो प्रभाव दीर्घकालसम्म राख्न सक्ला कि नसक्ला भन्ने प्रश्न उठिरहेको छ ।
तराई सम्भावनाहरुको प्रचुर खानी रहेको तर समस्या नै समस्याले ग्रस्त क्षेत्र हो । अहिले मधेशमा सिके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीकै रजगज चलिरहेको छ । ठूला राजनीतिक दलको पनि केही उपस्थिति देखिन्छ ।
हो, मिसन ०८४ बोकेर हिँडेको रास्वपा तिनै पुराना राजनीतिक दलहरुको दबदबाको चेन ब्रेक गर्ने ध्याउन्नमा छ । अनि बहुमतको सरकार बनाउने सपना देखिरहेको रास्वपाले के ०८४ मा मधेशी जनताको मत पाउला त ? यो प्रश्नले जवाफ ०८४ मै पाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया