आठौँ राष्ट्रिय खेलकुद,  ३ सय ७ पदकका लागि पाँच हजार २ सय ११ खेलाडी सहभागी हुने

काठमाडौं । आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नंं ५ को विभिन्न स्थानमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एक हजार ३ सय ७ पदकका लागि पाँच हजार २ सय ११ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । 

राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’का अनुसार प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा पाँच हजार २ सय ११ जना खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगितामा दुई हजार ८ सय २५ पुरुष र दुई हजार ३ सय ८६ महिला खेलाडीहरुको सहभागिता रहनेछ । 

प्रतियोगितामा ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सातौँ राष्ट्रिय खेलकूदमा १० हजार व्यवस्था गरिएकोमा आठौँ राष्ट्रिय खेलकुदमा यसमा वृद्धि गरी १५ हजार र सामूहिक स्पर्धातर्फ सातौँ राष्ट्रिय खेलकुदमा पाँच हजार व्यवस्था गरिएकोमा आठौँमा त्यो रकम वृद्धि गरि सात हजार पु-याइएको छ ।

प्रतियोगितामा राष्ट्रिय कीर्तिमान तोड्ने खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ । प्रतियोगितामा टोली प्रशिक्षक ६ सय ४० र टोली व्यवस्थापक ४ सय ६१ को सहभागिता रहनेछ ।

प्रतियोगितामा ३५ खेलहरु फुटबल, एथलेटिक्स, बक्सिङ्ग, भारोक्तोलन, टेबलटेनिस, क्रिकेट, लन टेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खो खो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराँते, कुस्ती, फेन्सीङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्याण्डबल, बुद्धिचाल, सफ्टटेनिस, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराँते र हक्की रहेका छन् । 

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक ९ सय २२ र स्थानीय निर्णायक ४ सय ७१ समेत गरी जम्मा एक हजार ३ सय ९३ जनाको सहभागिता रहनेछ । खेलाडी, अफिसियल, रेफ्री, जज, जुरी, उपसमितिमा रहने पदाधिकारी र अन्य अफिसियल समेत गरी १० हजारको सहभागिता रहने राखेपले जनाएको छ । 

प्रतियोगितामा विभागीय टोलीबाहेकको खेलाडी तथा अफिसियलको खाना, बसोबासका लागि चार करोड ६७ लाख १७ हजार २ सय खर्च लाग्ने छ भने रेफ्रीहरुको यातायात र निर्णायक भत्तातर्फ ५६ लाख ३३ हजार ५ सय लाग्ने परिषद्ले जनाएको छ । 

जिल्लास्तरीय खेलाडी छनोटका लागि जिल्लामा खेलाडी दर्ता भएको आधारमा कोटा निर्धारण गरी ७७ जिल्ला खेलकुद विकास समितिबाट खेलाडी छनोट सम्पन्न गरिसकिएको र यसका निमित्त तीन करोड पाँच लाख ४० हजार खर्च भएको परिषद्ले जनाएको छ । 

प्रदेश प्रतियोगिता तथा छनोट, बन्द प्रशिक्षण, यातायात समेतका लागि सातै प्रदेशलाई  १९ करोड ९० लाख निकासा गरी प्रदेश नं. ३ र सुदूरपश्चिम प्रदेशको तेक्वान्दो छनोटबाहेक ३५ वटै खेलका खेलाडीहरु छनौट भइसकेका छन् ।

प्रदेश नंं ३ को तेक्वान्दो खेलको प्रदेश छनोट यही चैत २३ देखि २५ गतेसम्म हुने र सुदूरपश्चिम प्रदेशको तेक्वान्दो खेलको प्रदेश छनोट यही चैत २० देखि २२ गतेसम्म हुने परिषद्ले जनाएको छ । 

परिषद्का अनुसार विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई खेलाडी छनौट तथा खेल सामग्रीका निमित्त सात लाखका दरले २१ लाख निकासा गरिसकिएको र सम्बन्धित विभागबाट खेलाडी छनोट भई विभागमै प्रशिक्षणरत् रहेका छन् । 

गैर आवासीय नेपाली सङ्घ 'एनआरएन'को तर्फबाट नौ देशका २४ खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगितामा १ सय २५ ‘भोलेन्टियर’ प्रशिक्षकलाई ७७ जिल्ला खेलकुद विकास समिति र सातै प्रदेशमा प्रशिक्षण गराउने गरी नियुक्ति दिई कामकाजमा लगाइएको छ । 

प्रतियोगिताका लागि ४३ करोड ८५ लाख ५१ हजार ६ सय ५० खर्च लाग्ने र चालु आर्थिक वर्षमा विनियोजित १७ करोड ८४ लाख ५९ हजार र अर्थ मन्त्रालयले थप निकासा गरेको १५ करोड गरी ३२ करोड ८४ लाख ५९ हजार राष्ट्रिय खेलकुद परिषद्का नाममा निकासा भइसकेको तथा बाँकी नपुग रकम ११ करोड ९२ हजार ६ सय ५० निकासाका निमित्त युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पत्राचार गरिएको युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने प्रदेश तथा राष्ट्रिय प्रतियोगिताको खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्री, खेल सङ्घ प्रतिनिधिको सङ्ख्या तथा कोटा निर्धारण भइसकेको तथा प्रतियोगिताका निमित्त खेल सामग्रीको व्यवस्था भइसकेको छ । आठौँ राष्ट्रिय खेलकदको समुद्घाटन नेपालगन्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्यरूपमा गरिने छ भने समापन वैशाख ११ गते साँझ नेपालगन्ज रङ्गशालामै सम्पन्न गरिनेछ । 

यसअघि परिषद्ले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका–२०७५, आर्थिक कार्यविधि तथा खर्चका मापदण्डसहित मन्त्रिपरिषद्को निर्णय बमोजिम स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ । 

वैशाख ५ गते औपचारिक उद्घाटन गरिने भए पनि प्रतियोगितामा समावेश केही खेल भने चैत २७ गतेदेखि नै शुरु हुनेछ । 

प्रत्येक दुई-दुई वर्षको अन्तराल गर्ने लक्ष्यसहित वि.सं २०३८ सालमा शुरु भएको राष्ट्रिय खेलकुदको शुरुका तीन संस्करणबाहेक कुनै पनि राष्ट्रिय खेलकूद दुई वर्षको अवधिमा हुन सकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?