काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको आयोजनामा दोश्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा विभिन्न ९ खेलमा प्रतिस्पर्धा गराइने बताइएको छ ।
प्रतियोगितामा टेबलटेनिस, एथलेटिक्स, भलिबल, कबड्डी, बास्केटबल, उसु, कराते, तेक्वान्दो र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुने नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी गराए । दोश्रो संस्करणमा टेबलटेनिस, बास्केटबल र ब्याडमिन्टन थप गरिएको हो ।
प्रतियोगितामा विभिन्न ४९ विद्यालयका २ हजार २ सय ५४ खेलाडीले प्रतिस्पर्धा गर्ने नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पदमबहादुर खत्रीले जानकारी दिए ।
ब्याडमिन्टनमा ३, भलिबल र कबड्डीमा समान २–२, एथलेटिक्समा २६, कराते, उसु र तेक्वान्दोमा समान १२–१२, टेबलटेनिसमा ३ तथा बास्केटबलमा २ गरी कूल ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
टिम च्याम्पियनले १ लाख, दोश्रोले ६० हजार, तेश्रोले ४० हजार र चौथोले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गत संस्करणको उपाधि हिमरश्मीले जितेको थियो ।
मंसिर २२ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब २२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ ।
खेल तार्केश्वर नगरपालिकाका विभिन्न स्थानका साथै एथलेटिक्सको ट्रयाक इभेन्ट भने हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया