बारा–पर्सा आँधीबेरीमा गगन थापादेखि बाबुराम भट्टराईद्वारा दुःख व्यक्त, सरकारलाई दिए यस्तो सुझाव

काठमाडौं । बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको असिना–पानी सहितको भीषण हावाहुरीका कारण तीन दर्जनभन्दा बढी व्यक्तिहरुको अकालमै ज्यान गएको र सयौं घाइते तथा अंगभंग भएको घटनाप्रति सर्वसाधारण, विभिन्न राजनीति दल, पार्टीका नेता तथा कार्यकर्ताहरुले दुःख प्रकट गरेका छन् । 

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालेविज्ञप्तिमार्फत भनेका छन्,  ‘प्राकृतिक विपदका कारण दिवंगत भएका सबैप्रति मेरो व्यक्तिगत तर्फबाट र पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’ 

विपदमा परी घाइते भएकाहरुको तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा ज्यान गुमाउन पुगेकाहरुका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्थागर्न उनले सकारलाई आग्रह गरेका छन् । 

देउवाले आफ्नो र  पार्टीसमेतको प्रतिनिधित्व गर्दै उपसभापति  विमलेन्द्र निधि प्रभावित क्षेत्रमा पुगेको पनि जनाएको छ । 

उनका साथै सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्यहरु एवं प्रदेश नं २, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव तथा पार्टीका जिल्ला कार्यसमितिहरु, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाहरुलाई समेत घाइतेको उद्धार, पुर्नस्थापना र राहतमा जुट्नका लागि निर्देशन गरिएको देउवाले बताएका छन्।

कांग्रेस नेता गगन थापाले पनि सामाजिक सञ्जाल ट्विटर मार्फत हावाहुरीका कारण मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जली र घाइते हरुको शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।  

"गए राती भएको भीषण हावाहुरीका कारण मृत्यु हुने सम्पूर्णमा श्रद्धाञ्जली र घाइते हरुको शीघ्र स्वास्थलाभको कामना। अहिले बारा र पर्सा बासीमा सबैको सहयोग को खाँचो रहेको छ। आधि आए तराईमा पहाडले छेक्नु पर्छ भनेझैं सबैलाई यस विपत्तिको सामना गर्न सहयोग गर्न अपिल गर्दछु" थापाले लेखेका छन् । 

राप्रपाका अध्यक्ष कमल थापाले पनि जनधनको ठूलो क्षति भएकोमा दुःख लागेको बताएका छन् । पीडित परिवारलाई सहयोग र घाइतेहरूको उपचारका निम्ति सरकारलाई अनुरोध गर्दै राहतकार्यमा जुट्न राप्रपाका कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । 

विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्राले पनि हावाहुरीका कारण बारा र पर्सा भएको ठूलो जनधनको क्षतिबाट अत्यन्तै दुखी भएको बताएका छन् । 

ट्विटरमा उनले लेखेका छन्, "सरकारले राहत र उद्धार र दीर्घकालीन सहयोगमा कुनै कसर बाँकी नराखोस्। नागरिकहरूले त विगतका विपदमा झैँ आफ्नो दायित्व पुरा गर्ने नै छन्। मृत्तकहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु ।"

त्यसैगरि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले शोक वक्तव्य जारी गर्दौ बारा,पर्सालगायत तराईका विभिन्न जिल्लामा आइतबार साँझ एक्कासी आएको त्रासदीपूर्ण आँधीबेहरीबाट कम्तिमा २७ जनाको मृत्यु तथा ६ सय १२ भन्दाबढी घाइते भएको खबरले आफूलाई अत्यन्त मर्माहत बनाएको बताएका छन् । अचानक आएको आँधीबेहरीको घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै, शोकाकुल परिवार तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दै आँधीबेहरीका घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको नि:शुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । आगामी दिनमा यस्ता दु:खद घटना हुन नदिन आवश्यक सजकता अपनाउन सम्बन्धित निकायको ध्यानकार्षण गराउन चाहन्छु। शोक वक्तव्यमा लेखिएको छ ।  

पूर्वराजा ज्ञानेन्द्र शाहले आइतवार राति बारा र पर्सामा आएको हावाहुरीबाट भएको जनधनको क्षतिले आफू स्तब्ध भएको बताए । 

सोमवार विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले प्राकृतिक विपदको घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पीडित जनहरूमा समवेदना प्रकट समेत गरेका छन् । साथै घाइतेहरूको शिध्र स्वास्थ्य लाभको कामना पूर्वराजा शाहले गरेका छन् । 

बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार सॉझ आएको हावाहुरीमा परि मृत्यु  भएकाहरु प्रति पूर्वप्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गहिरो दुःख व्यक्त गरेका छन् । 

प्रचण्डले सामाजिक सञ्जाल ट्विटर र फेसबसमा लेखेका छन्, "ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछु ।"

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले बारापर्सामा भीषण हावाहुरीका कारण भएको ठुलो जनधनको क्षतिले स्तब्ध बनाएको बताए । 

"प्राकृतिक विपद्को वेला उद्धार, राहत र पुनर्स्थापनारनवनिर्माण सम्भव भएसम्म एकद्वार प्रणाली अन्तर्गत सरकारी,सामुदायिक र निजी क्षेत्रको सहकार्यमा गर्ने पद्धति विकास गरौं ! अनावश्यक हानथाप नगरौं ! संघीय प्रणाली अन्तर्गत प्रदेश सरकारकै नेतृत्वमा सबै एकजुट हुनु उपयुक्त हुनेछ ! "भट्टारईले ट्विटरमा लेखेका छन् । 

खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले बारा तथा पर्सा जिल्लामा हिजो राती आएको हावाहुरीबाट पुग्न गएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको बताइन् ।  उक्त प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाउनुहुनेहरूमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भइ उपचाररत सम्पूर्णमा शिघ्र स्वास्थ्य लाभको कामना पनि उनले गरेकी छिन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले  बारा र पर्सा जिल्लाको केही स्थानमा हिजो  आएको ऑधि र हुरीबाट धेरै धनजनको क्षतिमा  गहिरो दुःख व्यक्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?