प्रधानमन्त्री ओली बाराको स्थलगत अनुगमनमा, गृहमन्त्री भन्छन्, ‘आवश्यकता अनुसार राहत र क्षतिपूर्ति उपलब्ध गराउछौं’

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली बाराको सिमरा एयरपोर्ट पुगेका छन् । 

गृह जिल्ला झापामा आज (सोमवार) हुने तीन वटा कार्यक्रम स्थगित गरेर प्रम ओली प्राकृतिक प्रकोपबाट भएको दुर्घटनाको स्थलगत अनुगमनका लागि बाराको सिमरा पुगेका हुन् । 

उनस् झापाको भद्रपुर विमानस्थलबाट नेपाली सेनाको एनए ०४१ नम्बरको स्काइट्रकमार्फत बाराको सिमरा एयरपोर्ट पुगेका हुन् । 

उनले बाराको फेटा गाउँपालिका पुरैनियाँ गाँउमा पुगेर स्थलगत अवलोक गर्नुका साथै कलैया अस्पताल पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ । 

त्यसपछि प्रधानमन्त्री ओली आर्मी ब्यारेक जाने छन् । त्यहाँबाट सिधैं वीरगञ्जको नारायण अस्पताल र नेशनल मेडिकल कलेजमा पुगेर उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने बताइएको छ । 

साथै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । 

नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाईसमेत अपिल गरेका छन् । 

यसैबीच गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु र सात सय बढी घाइते भएको जानकारी दिएका छन् ।  मन्त्री थापाले घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइकएको समेत बताए । उनले घटनास्थलमा पुगेर अनुगमन गरेपछि आवश्यकता अनुसारको राहत र क्षतिपूर्ति उपलब्ध गराउने बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?