प्रधानमन्त्री ओली कलैया अस्पतालमा, ‘राहत, उद्धार र उपचारमा कुनै समस्या हुन दिन्न’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रमा राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिएका छन् । 

प्रधानमन्त्री ओली कलैयास्थित अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका छन् । 

झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज (सोमवार) अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै प्रभावित क्षेत्रमा पुगेका हुन् । 

प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाका बारेमा जानकारी दिएका थिए ।  

आइतवार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?