मन्त्री सोनलको कडा प्रतिक्रिया, ‘हेलिकोप्टरमा उडेर राहत हुँदैन’

बारा । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टरबाटै हवाइ निरीक्षण गरेको प्रति प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास जितेन्द्र सोनलले असन्तुष्टि जनाएका छन्  ।

झापाको भद्रपुर विमानस्थलबाट बारा आइपुगेका प्रधानमन्त्री ओलीले सोमवार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको फेटा गाउँको हेलिकोप्टरबाट निरीक्षण गरेका थिए । सोसँगै मन्त्री सोनलले आपत्ति जनाएका थिए । 

‘हेलिकोप्टरमा उडेर राहत हुँदैन, यहाँ मान्छेलाई पाल छैन, स्रोत साधन छैन, पाल खसालिदिनु पर्यो नि मान्छेलाई’ उनले आक्रोशित हुँदै भने । 

उनले थप्दै भने, ‘हामी यहाँ जिरो ग्राउण्डमा छौं, उहाँहरुलाई मैले देखेको पनि छैन, केन्द्रीय सरकारसँग आग्रह छ, प्रधानमन्त्रीजीसँग आग्रह छ, कृपया पाल पठाउनु पहिले, राति सुत्नलाई पाल छैन, कमसेकम ५ हजार परिवारलाई पाल चाहिन्छ ।’ 

साथै प्रधानमन्त्रीले हेलिकोप्टरबाटै हवाइ निरीक्षण गरेको प्रति फेटा गाउँपालिकाका स्थानीयबासीले समेत असन्तुष्टि जनाएका थिए ।  

आइतवार राति वर्षासँगै आएको हावाहुरीले बाराको फेटा गाउँपालिका नराम्ररी प्रभावित भएको छ । सबैभन्दा धेरै धनजनको क्षति भएको फेटामा प्रधानमन्त्री ओलीसहितको टोली जाने भनिएको थियो । तर, गृहजिल्ला झापाबाट नेपाली सेनाको हेलिकोप्टरमा बारा पुगेका प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रको हवाइ निरीक्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?