आर्सनल इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो, न्युक्यासल स्तब्ध

एजेन्सी । आर्सनल जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको तेस्रो स्थानमा उक्लिएको छ । 

सोमवार राति सम्पन्न भएको ३१ औँ चरणको खेलमा आर्सनलले लिगको १४ औँ स्थानमा रहेको न्युक्यासललाई २-० गोल अन्तरले पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको हो । 

खेलको ३० औँ मिनेटमा आर्सनलका लागि आरोन राम्सीले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोलको अग्रता लिएको आर्सनलले दोस्रो हाफमा थप एक गोल थप्यो । 

८३ औँ मिनेटमा एलेक्जेन्डर लाकाजेटले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए । निर्धारित समयसम्म न्युक्यासलले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-० को हार बेहो-र्यो । 

जितपछि आर्सनलले ६३ अंक बनाएको छ । लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको ७९ अंक छ । त्यस्तै ७७ अंकका साथ म्यान्चेस्टर सिटी भने लिगको दोस्रो स्थानमा छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?