भरतपुर । भरतपुर महानगरपालिका–२९ स्थित राष्ट्रिय आधारभूत विद्यालय तान्द्राङमा खानेपानी व्यवस्थापन गरिएको छ ।
जर्मन सहयोगी संस्थाको आर्थिक सहयोगमा नेपाल ग्रामीण पुनःनिर्माण संस्था ‘आरआरएन’ ले खानेपानीको व्यवस्थापन गरेको हो ।
जिल्लामा सञ्चालित सीमान्तकृत समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन परियोजनामार्फत सो कार्य गरिएको हो । परियोजनाको तर्फबाट एक लाख ५८ हजार ३ सय २८ र समुदायको श्रमदान ४४ हजार ८ सय गरी दुई लाख तीन हजार १ सय २८ मा आयोजना निर्माण सम्पन्न गरिएको परियोजना जिल्ला संयोजक सन्तोष भट्टराईले जानकारी दिए ।
प्रशोधन नगरिएको पानी पिउन बाध्य बालबालिका बालमैत्री धारा निर्माण गरिएपछि खुशी भएका छन् । विद्यालयमा छ धारा बनाइएको छ । यसअघि सोही विद्यालयमा शौचालय निर्माण गरिएको थियो तर पानीको व्यवस्था गर्न नसक्दा विद्यार्थी फोहरमै शौच गर्न बाध्य थिए ।
विद्यालयका प्राधानाध्यपक सीता भुजेलका अनुसार संस्थाले खानेपानीमा सहयोग गरेपछि शुद्ध पानीका साथै सरसफाइमा चेतना पुगेको छ । कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा २६ बालबालिका अध्ययन गर्दछन् । यसबाट अन्य २२ घरधुरीसमेत लाभान्वित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया