एजेन्सी । नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्स जारी इण्डियन प्रिमियर लिग ‘आइपीएल’ क्रिकेटमा पराजित भएको छ ।
बिन्द्रा स्टेडियममा सोमवार राति सम्पन्न भएको खेलमा दिल्ली क्यापिटल्स किङ्गस इलाभेन पन्जाबसँग १४ रनले पराजित भएको हो । १ सय ६७ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको दिल्लीको पारी १९ दशमलब २ ओभरमा मात्र १ सय ५२ रनमा समेटिएको थियो ।
दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३९ रन, कोलिन इन्ग्रामले ३८ रन, शिखर धवनले ३० रन तगा कप्तान श्रेयस आयर २८ रन जोडे । दिल्लीको पारी ध्वस्त पार्ने क्रममा पन्जाबका साम करणले ह्याट्रिकसहित ४ विकेट लिन सफल भए । जारी सिजनको यो पहिलो ह्याट्रिक विकेट हो ।
सामले १७ औँ ओभरको अन्तिम बल र १९ औँ ओभरको शुरुवाती २ बलमा विकेट लिदैं ह्याट्रिक पुरा गरेका हुन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६६ रनको योगफल तयार पारेको थियो । पन्जाबका लागि डेभिड मिल्लरले ४३ रन, सर्फराज खानले ३९ रन, मन्दिप सिंहले अविजित २९ रन, साम करणले २० रन तथा लोकेश राहुलले १५ रन जोडेका थिए ।
दिल्लीका क्रिस मोरिसले ३ तथा कागीसो राबडा र सन्दीप लामिछानेले २-२ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर २ विकेट लिन सफल भए । उनले पहिलो र चौथो ओभरमा विकेट लिएका थिए ।
यो जितसँगै पन्जाब लिगको दोस्रो स्थानमा उक्लिएको छ । पन्जाबले ४ खेलबाट ६ अंक बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया