सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरुसँगको छलफल सकियो, कसको नाममा कति उजुरी ?

लोकपथ
147
Shares

काठमाडाैं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग प्रतिनिधि सभाअन्तर्गतकाे संसदीय सुनुवाइ समितिले छलफल सम्पन्न गरेको छ । समितिले प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध उजुरी दिने १० जना उजुरीकर्ताहरुसँग आइतबार छलफल सम्पन्न गरेको हो ।

उजुरीकर्ताहरुसँग छलफल सकिएपछि अब प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ आगामी मंसिर २९ गते हुने समितिका एक सदस्यले लोकपथलाई जानकारी दिए ।

गत मंसिर ५ गते बसेको न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा अब्दुल अजिज मुसलमान, सारंगा सुवेदी, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । उनीहरुको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रस्तावित न्यायाधीशहरुमध्ये सबैभन्दा बढी सारङ्गा सुवेदीविरुद्ध उजुरी परेको छ । उनीविरुद्ध ५ वटा उजुरी परेको जनाइएको छ । त्यस्तै टेकप्रसाद ढुङ्गानाविरुद्ध ३ वटा र अर्का प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमान विरुद्ध १ वटा उजुरी परेको छ ।

अन्य प्रस्तावित न्यायाधीशहरू सुनील पोखरेल, महेश शर्मा पौड्याल र बालकृष्ण ढकालविरुद्ध भने उजुरी परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?