आठौँ राष्ट्रिय खेलकुद : राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

काठमाडौं । आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । 

प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’ले जनाएको छ ।

उद्घाटन समारोहमा प्रदेशैपिच्चेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ । त्यस्तै प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । 

सोही रङ्गशालामा वैशाख ११ गते साँझ आयोजित कार्यक्रममा समापन गरिनेछ । यसअघि पूर्वाञ्चलमा आयोजना गरिएको सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेको थियो ।

सोही समापन समारोहमा नवौँ राष्ट्रिय खेलकूदको मिति र स्थानसमेत घोषणा हुने राखेपले जनाएको छ ।

प्रतियोगिताका खेल भने यही चैत २७ गतेदेखि शुरु हुनेछन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली सङ्घ ‘एनआरएन’ गरी ११ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा एक हजार ३ सय ७ पदकका लागि पाँच हजार २ सय ११ खेलाडीले प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगितामा ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?