साझाले थप २० नयाँ शहरी बस ल्याउँदै

काठमाडौं । साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी ‘सिटी’ बस थपेको छ ।

केही महीना पहिले बस खरीदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो । 

साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरीद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरीद भएकोे हो । उनले भने, ‘अहिले ती नयाँ बस रक्सौलमा आइपुगेको छ । भन्सार प्रक्रिया पूरा गरेर अब केही समयभित्रै काठमाडौँ आइपुग्नेछ ।’

बस काठमाडौँ आइपुगे पछि उपत्यकामा माग भएका ठाउँ र आवश्यकता हेरेर सरकारसँग रुट माग गरिने उनले जानकारी दिए । काठमाडौँ महानगरपालिकाले पाँच करोड र ललितपुर महानगरपालिकाले एक करोड शेयर खरीद गरेका छन् । 

विसं २०१९ मा बस सेवा शुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो । विभिन्न समस्याका कारण दुई दशकसम्म साझाका सेवा ठप्प भयो । विसं २०७० वैशाखदेखि साझाले नयाँ बस खरीद गरेर पुनः सेवा सञ्चालन गरेको थियो ।

पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बस अहिले काठमाडौँ उपत्यकाका ग्रामीण क्षेत्रसम्म फैलिएको छ । 

साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरीद गरेर सेवा फैलाइरहेको जनाएको छ । साझा यातायातले गत वर्षदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर ‘सेमी लो स्टेप बस’ समेत सञ्चालनमा छ ।

साझाले काठमाडौँदेखि बागलुङ र काठमाडौँदेखि कुश्मासम्मको लामो दूरीका दुई-दुई बस समेत सञ्चालन गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?