विदेशी मुद्राको सञ्चिती बढ्यो : कति महिनालाई धान्ला ढुकुटीले ?

लोकपथ
2.1k
Shares

काठमाडौं । विदेशी मुद्राको सञ्चितीमा सुधार देखिएको छ । राष्ट्र बैंकले आज बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक वर्षको पछिल्लो चार महिनाको प्रतिवेदन अनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेर २०८० कात्तिक मसान्तमा १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा आठ दशमलव नौं प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैंयाँ रहेकोमा २०८० कात्तिक मसान्तमा १० दशमलव आठ प्रतिशतले बढेर भई १४ खर्ब ९० अर्ब ८३ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्था अर्थात नेपाल राष्ट्र बैंक बाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ६ दशमलव चार प्रतिशतले बढेर दुई खर्ब पाँच अर्ब ९५ करोड कायम भएको छ ।

२०८० कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव आठ प्रतिशत रहेको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३ महिना ६ दिनको वस्तु आयात र ११ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३१ दशमलव पाँच प्रतिशत, ९४ दशमलव तीन प्रतिशत र २६ दशमलव सात प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८ दशमलव छ प्रतिशत, ८३ प्रतिशत र २५ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?