कृषिबाटै आत्मनिर्भर

गलेश्वर । नेपालमा अझै पनि कृषि पेशालाई सम्मानजनक पेशाको रूपमा अपनाउन नसकिरहेको अवस्थामा म्याग्दीका दर्जन बढी गाउँका तीन  हजार बढी जनता कृषिबाट नै आत्मनिर्भर बनेका छन् ।

प्रसिद्ध अन्नपूर्ण पदमार्गले छोएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका साथै रघुगङ्गा, मालिका, मङ्गला, धवलागिरि गाउँपालिका र बेनी नगरपालिकाका दर्जन बढी गाउँका तीन हजार बढी जनता फसल उत्पादन र व्यावसायिक तरकारी तथा फलफूल खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

लाहुरेको जिल्ला भनेर चिनिएको म्याग्दीले पछिल्लो समय उद्यमी र कृषकको जिल्ला भनेर  आफ्नो परिचय दिएको छ । दुई लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार ८ सय ५६ हेक्टर जमीन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

 एक लाख १३ हजार ६ सय ४१ जनसङ्ख्या रहेको जिल्लाको ३२ प्रतिशत जनसङ्ख्या पूर्णरूपमा कृषिमा आश्रित रहेको भए पनि उनीहरुले व्यावसायिकरूपमा उत्पादन गर्न सकेका छैनन् । सात प्रतिशत जनताले व्यावसायिकरूपमा नै कृषि पेशा अँगालेर मनग्यै कमाइ गर्न सफल भएका छन् ।

जिल्लाको अन्नपूर्ण गाउँपालिकाको हिस्तान दोसल्ले, राम्चे, मङ्गला गाउँपालिकाको बाबियाचौर, अर्मन, बरङ्जा, कुँहू, धवलागिरि गाउँपालिकाको ताकम, मालिका गाउँपालिकाको बीम, दरबाङ, ओखरबोट, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, झीँ, पात्लेखेत र बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिङ्गालगायतका गाउँका अधिकांश जनता  कृषिबाट नै आत्मनिर्भर बन्नुका साथै विदेशमा भन्दा राम्रो कमाइ गर्न सफल भएको सम्बन्धित गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

यी गाउँमा व्यावसायिकरूपमा तरकारी र फलफूल खेती गरिएको छ । तरकारीमा आलु, गोँलभेडा, साग, लहरे प्रजातिका तरकारी बढी उत्पादन हुने गरेका छन् ।

जिल्लाका दोसल्ले, बरङ्जा, बीम, भकिम्ली, राखु, बास्कुनालगायतका गाउँमा सुन्ताला बेचेर नै वार्षिकरूपमा पाँच करोडभन्दा बढी जिल्लामा भित्रिने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

त्यसैगरी बेनी नगरपालिका–२ खबराको एउटै गाउँमा केरा बेचेर मात्र गत वर्ष ५० लाखभन्दा बढी आम्दानी भएको खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । म्याग्दीमा तरकारी र फलफूलबाट वार्षिक ४७ करोडभन्दा बढी आम्दानी हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

बेनी नगरपालिका–२ खबराका कृषक शोभित सापकोटाले कृषि आफ्नो लागि वरदान सावित भएको बताए । ६ वर्षअघि के खाउँ र के लाउँको अवस्थामा रहेका सापकोटा अहिले कृषिबाटै एक करोडभन्दा बढीको सम्पत्ति जोड्न सफल भएका छन् ।

त्यसैगरी बास्कुनाका तिलक गुरुङ, खबराका चन्द्रबहादुर कार्की, दोसल्लेकी सुनमाया पुन, अर्मनकी टीकाकुमारी सापकोटालगायतका कृषकले व्यावसायिक कृषिबाट नै करोडौँ कमाउन सफल भएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?