माल्दिभ्सका पूर्व राष्ट्रपति नशीद फेरि शक्तिमा

माल्दिभ्स । माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशीद पुनः शक्तिमा फर्किएका छन् । 

पूर्ववर्ती सरकारले भ्रष्टाचारको आरोप लगाएपछि निर्वासनमा रहेका नशीद स्वदेश फर्किएको पाँच महिनापछि फेरि निर्वाचन मार्फत् शक्तिमा आएका हुन् । 

शनिवार भएको संसदीय निर्वाचनमा उनको पार्टीले अत्यधिक मत प्राप्त गरेको आइतवार विवरण सार्वजनिक गरिएको छ । नशीदको पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टी ‘एमडिपी’ले नाटकीय रुपमा दुई तिहाई जित हासिल गरेको छ । माल्दिभ्समा कुल ८७ सदस्यीय संसद रहेको छ । 

अत्यधिक मतका साथ जित हासिल गरेको एमडिपीका ५१ वर्षीय नेता नशीदले स्थिरता र लोकतन्त्रका लागि काम गर्ने र राजनीतिक सङ्कट र भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जनाएको थियो । 

विजयी भएपछि राजधानी मालेमा आइतवार उनले भने,  ‘शान्ति स्थापनाका लागि काम गर्नु हाम्रो सरकारको मुख्य दायित्व हुनेछ ।’

उनका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी पूर्व राष्ट्रपति अब्दुल्ला यमिन भने यस पटक निर्वाचनमा सहभागी हुनु भएको थिएन । तर उनको पार्टी प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स सहभागी भएपनि चार सिट मात्रै जितेर समग्रमा नराम्रो पराजय भोग्न बाध्य भएको छ ।  

गत सेप्टेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा नशीदकै पार्टीका अर्का नेता मोहम्मद इब्राहिम सोलिह विजयी भएको थियो ।  उनीसँग पराजित भएका तत्कालिन राष्ट्रपति यमिनले निर्वासनमा बस्न बाध्य पारिएका नशीद गत निर्वाचनमा सोलिह विजयी भएपछि मात्रै स्वदेश फर्किएका थिए । 

पूर्व राष्ट्रपति यमिन शक्तिमा भएका बेला नशीदलाई विवादास्पद आतङ्कवाद सम्बन्धी मुद्दा लगाएर १३ वर्ष जेल सजाय सुनाइएको थियो । गत वर्ष राष्ट्रपति परिवर्तन भएपछि उनलाई दिएको जेल सजाय रद्द गरेर रिहा गरिएको थियो । 

सेम्टेम्बरमा भएको निर्वाचनको बेला तत्कालीन विपक्षी दलका नेताहरु जेलमा वा निर्वासनमा रहेका कारण सोलिहबाहेक अन्य विपक्षी नेताहरु चुनावी मैदानमा थिएनन् । सोलिह निर्वाचित भएपछि उहाँले राजनीतिक बन्दीहरूका मुद्दा तत्काल फिर्ता लिने अभियानका क्रममा नशीदलाई पनि स्वदेश फकाईएको हो । 

अहिलेको भने नशीदको पार्टीका नेता सोलिहले नेतृत्वको सरकारले यमिनलाई अनेक मुद्दा लगाएको छ । माल्दिभ्समा प्रतिशोधको राजनीति चर्किदै गएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?