टी-ट्वान्टी क्रिकेटमा सन्दीपले लिए ५० विकेट

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी-ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा गर्न सफल भएका छन् । 

भारतमा जारी इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध विकेट लिदै उनले ५० विकेट पुरा गरेका हुन् । उनले बैंगलोरका मोइन अलीलाई ३२ रनमा पेभेलियनमा फर्काउँदै ५० विकेट पुरा गरे । उनले हालसम्म ४० टी-ट्वान्टी क्रिकेट खेलमा ५० विकेट लिन सफल भएका हुन् । 

गतवर्ष मात्रै उनले आइपीएल क्रिकेटबाट टी-ट्वान्टी क्रिकेटमा डेब्यु गरेका थिए । उनले टी-ट्वान्टी खेलेको एक वर्ष पुरा नगर्दै विश्वभरका फ्रेन्चाइज टी-ट्वान्टी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै ५० विकेट लिन सफल भएका  हुन् । 

आईपीएलमा डेब्यु गरेसँगै उनले क्यारेबियन प्रिमिएर लिग ‘सिपिएल’, अष्ट्रेलियाको बिग बास लिग, क्यानाडाको ग्लोबल टी-ट्वान्टी, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग तथा पाकिस्तान सुपर लिग खेलेका थिए ।

उनको टी-ट्वान्टीमा ६ दशमलब ८४ को बलिङ इकोनमि रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?