भारतविरुद्धको दोस्रो एक दिवसीयमा दक्षिण अफ्रिका ८ विकेटले विजयी

लोकपथ
49
Shares

काठमाडौं । भारतविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको छ ।भारतले दिएको २११ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४२.३ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टायो।

उसका लागि टोनी डी जोर्जीले अविजित रहँदै ११९ रनको शतकीय पारी खेले। १२२ बलको सामना गरेका उनले ९ चौका र ६ छक्का लगाए।
त्यसबाहेक रीजा हेन्ड्रिक्सले ५२ रनको अर्धशतकीय पारी खेलेर आउँट हुँदा रसी भान डेर डुसेन ३६ रनमा पेभेलियन फर्किए। एडन मक्रम २ रन बनाउँदै अविजित रहे।

भारतका रिंकु सिंह र अर्शदीप सिंहले समान एक–एक विकेट लिए। त्यसअघि ग्वेराको सेन्ट जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङमा तानिएको भारत ४६.२ ओभरमा अलआउट हुँदै मात्र २११ रनमा समेटियो।

उसका लागि साइ सुदर्शनले ६२ र केएल राहुलले ५६ रनको अर्धशतकीय पारी खेले। त्यसबाहेक अर्शदीप सिंहले १८, रिंकु सिंहले १७, सन्जु सामसनले १२, तिलक बर्माले १० रन जोडे। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

दक्षिण अफ्रिकाका नान्द्रे बर्गरले तीन, बिउरान हेन्ड्रिक्स र केशव महाराजले समान दुई–दुई तथा लिजाड विलियम्स र एडेन मक्रमले समान एक–एक विकेट लिए।

यी दुई देशबीचको पहिलो एकदिवसीय खेल भारतले ८ विकेटले जितेको थियो। अहिलेको नतिजासँगै सिरिज १–१ को बराबरीमा पुगेको छ। तेस्रो एकदिवसीय खेल २१ डिसेम्बरमा हुनेछ।

दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतीय टोलीले अहिले तीन टी२० खेल खेलिसकेको छ। जसमा पहिलो खेल पानीका कारण रद्द भएको थियो भने दोस्रो दक्षिण अफ्रिका र तेस्रो भारतले जितेको थियो। तीन खेलको एक दिवसीय सिरिज सकिएपछि यी दुई देशबीच दुई खेलको टेस्ट सिरिज पनि हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?