श्रवण प्रजालाई स्वर्ण पदक

काठमाडौं । प्रथम मेयर कप सिन क्योकोसन कराँते प्रतियोगितामा श्रवण प्रजाले स्वर्ण पदक जितेका छन् । 

दक्षिणकाली नगरपालिका चाल्नाखेलमा भएको प्रतियोगिताको पुरुष ४५ केजी तौल समूहमा प्रजाले स्वर्ण पदक जितेका हुन् । यो तौल समूहमा निरुतम प्रजाले रजत र निकेश स्याङताङले कास्य पदक हात पारे । 

नेपाल सिन क्योकोसिन कराँते डो संघ चाल्नाखेलको आयोजनामा भएको प्रतियोगिताको ५० केजीमा जुगलीकुमार दास, सागर यादव र मिलन घिमिरे पहिलो, दोस्रो र तेस्रो भए । पुरुषकै ५५ केजीमा दिसान तामाङ पहिलो हुँदा मीनबहादुर मगर र निरोज श्रेष्ठ दोस्रो र तेस्रो भए । पुरुषको खुला तौल समूहमा विष्णुबहादुर सार्कीले स्वर्ण जिते । यस्तै प्रविण गुरुङले रजत र राजु महर्जनले कास्यमा चित्त बुझाए ।

यता महिला ५० केजीमा मीरा गुरुङ पहिलो, गोमा तामाङ दोस्रो र पूजा कुमारी तेस्रो भए । महिलाकै खुला तौल समूहमा सारिका घोन्ताङले स्वर्ण, राज कुमारीले रजत र सविना चालिसेले कास्य पदक जिते ।  

प्रतियोगितामा स्वयम्भू डोजो टिम च्याम्पियन बन्यो । त्यस्तै आयोजक चाल्नाखेल डोजो दोस्रो र वीरगन्ज डोजो तेस्रो भयो ।

विजेतालाई प्रदेशसभा सदस्य पुकार महर्जन, जापानका जेबी सुजुतो, नेपाल सिन क्योकोसिन कराँते संघका ब्रान्च चिफ सूर्य बुढाथोकी र आयोजक डोजोका प्रमुख विनोद गुरुङले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको पहिलो दिन भने उपत्यकाव्यापी च्याम्पियनसिप आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?