काठमाडौं । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको भौतिक प्रगति ठेक्का सम्झौता भएको दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ ।
मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । बाहखा बजारबाट सल्लाघारीतर्फका घर भत्काउनुपर्ने भए पनि स्थानीयवासीको अवरोधका कारण नसकिएको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।
काठमाडौंं उपत्यका नगर विकास प्राधिकरणले सडक खाली गराउनुपर्ने भए पनि गर्न सकेको छैन । उनले भने, ‘स्थानीयवासीले घरको मात्रै नभएर जग्गाको समेत मुआब्जा माग गरिरहेकाले काममा अवरोध पुगेको हो ।’
नेपाल सरकारको जग्गाको मुआब्जा दिने व्यवस्था नहुँदा काम अघि बढ्न नसकेको इञ्जिनीयर श्रेष्ठले बताए ।
मुआब्जा विवादका कारण अवरुद्ध सडक निर्माण अघि बढाउन जनप्रतिनिधिले पहल गरे पनि प्रगति नभएको उनको भनाइ छ । स्थानीयवासीले सङ्गठितरूपमा मुआब्जाको माग गरिरहेका छन् । सडक निर्माण ढिलाइमा ठेकेदारको गल्ती नभएको उनले बताए ।उनले भने, ‘हामी आफैँले नै काम गर्ने ‘साइट’ खाली गरिदिन सकेका छैनौँ ।’
चार दशमलव पाँच किलोमिटर लम्बाइको यो सडकको ठेक्का सम्झौता २०७४ साल असारमा भएको थियो । ठेक्का अवधि आगामी पुसमा सकिँदैछ । सडक निर्माणको ठेक्का कान्छाराम पिआर उमा कम्पनी एण्ड जेभिले लिएको थियो ।
काठमाडौं उपत्यकामा आयोजनाबाट ११ वटा सडक विस्तारको काम शुरु भए पनि कामले गति लिन सकेको छैन । काठमाडौं र ललितपुर जिल्लाका पाँच–पाँच र भक्तपुर जिल्लाको एउटा आयोजना शुरु भए पनि भौतिक प्रगति कम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया