साझाको ‘इ–टिकेटिङ’ मा यात्रु आकर्षित

काठमाडौं । साझा यातायातले शुरु गरेको ‘इ–टिकेटिङ’ प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ ।

‘इ–टिकेटिङ’ बुझेका यात्रु सो सेवाप्रति आकर्षित भइरहेको साझाले जनाएको छ । परीक्षणका रूपमा साझाले दुई साता पहिले इ–टिकेटिङ शुरु गरेको थियो । भाडाका लागि दैनिक रकम तिर्नुका साटो कार्ड खरीद गरेर भाडा तिर्न सजिलो हुने साझाले जनाएको छ ।

परीक्षणका लागि पुल्चोकस्थित कार्यालय वा बसका सहचालक लगायतका कर्मचारीमार्फत साझाले कार्डको बिक्री गरिरहेको प्रबन्धक महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

इ–टिकेटिङ यात्रुका लागि नयाँ भएकाले अहिलेसम्म उनीहरुमा अन्योल रहेको उनले बताए । उनका अनुसार कतिपय यात्रुले सबै बसमा लागू होस् भन्ने चाहेका छन् । उनले भने, “कार्ड किनेपछि साझाको मात्रै नभएर अरू बसहरुमा समेत लागू हुँदा यात्रुलाई समेत सजिलो हुन्छ ।”

साझा यातायातले सार्वजनिक यातायातका क्षेत्रमा नयाँ नयाँ सुविधा भित्र्याएको छ । नयाँ सुविधाकै रुपमा ‘इ–टिकेटिङ’ रहेको प्रबन्धक पाण्डेयले बताए । साझा यातायातले काठमाडौं उपत्यकामा २० वटा नयाँ शहरी ‘सिटी’ बस थपेको  छ । विसं २०१९ मा बस सेवा शुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो ।

विभिन्न समस्याका कारण दुई दशकसम्म साझाको यातायात सेवा ठप्प भयो । विसं २०७० वैशाखदेखि साझाले नयाँ बस खरीद गरेर पुनः सेवा सञ्चालन गरेको थियो । पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बसहरु अहिले काठमाडौं उपत्यकाका ग्रामीण क्षेत्रसम्म फैलिएको छ । 

साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरीद गरेर सेवा विस्तार गरिरहेको छ । साझा यातायातले गत वर्षदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर ‘सेमी लो स्टेप बस’ समेत सञ्चालनमा ल्याएको छ । 

साझाले काठमाडौंदेखि बाग्लुङ र काठमाडौंदेखि कुश्मासम्मको लामो दूरीका दुई–दुई बससमेत सञ्चालन गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?