बाँके । घरेलु खेलकुदको कुम्भ मेला आज ‘बुधवार’ बाट शुरु भएको छ ।
नेपालगञ्जलाई केन्द्र बनाएर आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलाडी, खेलप्रेमी र आमनागरिकलाई उत्साहित बनाएको छ । खेलकुदको यो कुम्भ मेलाले खेलप्रेमी र खेलाडीलाई मात्र नभई सिङ्गो देशलाई खेलकुदमय बनाइदिएको छ ।
भव्यता र व्यापकताका हिसाबले मुलुकभित्र हुने आठौँ संस्करणको यो प्रतियोगिताले खेल जगत्लाई चलायमान बनाउने र नयाँ गति दिने विश्वास गरिएको छ । राष्ट्रले प्रतिभावान् खेलाडी उत्पादन गर्न नियमित रूपमा गरिने राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तल्लो तहबाटै छनोट प्रतियोगिताहरु आयोजना गरी खेलाडी छनोट गरिन्छ ।
यसरी छनोट भएर आएका खेलाडीले राष्ट्रियस्तरमा चर्चित खेलाडीहरूसँंग प्रतिष्पर्धा गरेर आफ्नो क्षमता देखाउने अवसर पाउँछन् ।
नेपालमा भने राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु भएको ३८ वर्ष पूरा भइसकेको भए पनि अहिलेसम्म सात वटा संस्करण मात्र आयोजना हुन सकेका छन् । प्रत्येक दुई÷दुई वर्षमा राष्ट्रिय खेलकुद आयोजना गरिने भनिए पनि यसले निरन्तरता पाउन सकेको छैन ।
अहिले आठौँ खेलकुद हुँदैछ । यहाँ बढेको गर्मीसँगै आठौँको सरगर्मीले नेपालगञ्जलाई छपक्कै छोपेको छ । प्रतियोगितालाई भव्य र सभ्य बनाउन आयोजकलाई भ्याइनभ्याई छ ।
प्रतियोगितामा २ हजार ८ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला गरी ५ हजार २ सय ११ खेलाडीबीच रोमाञ्चक प्रतिष्पर्धा हुनेछ । कुल ६ सय ४० प्रशिक्षक र ४ सय ६१ टोली व्यवस्थापकलाई फुर्सद छैन ।
प्रतियोगिताका लागि ९ सय २२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र ४ सय ७१ स्थानीय निर्णायक छनोट भइसकेका छन् । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ का अनुसार खेलाडीले ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ कास्य पदकका लागि प्रतिष्पर्धा गर्नेछन् ।
व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामूहिकतर्फको विजेताले ७ हजार पाउने छन् भने राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउने छन् । प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिष्पर्धा गर्ने राखेपका सदस्य सचिव केशवकुमार बिष्टले जानकारी दिए ।
वैशाख ५ देखि ११ गतेसम्म चल्ने प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा उद्घघाटन र समापन हुनेछन् ।
प्रतियोगिताअन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याण्डबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।
त्यस्तै, दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् ।
त्यस्तै, रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ भने बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् । ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ ।
प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको हो ।
आठौँ खेलकुदको मिति नजिकिएपछि खुशी व्यक्त गर्दै सातौँ खेलकूद प्रतियोगितामा एथलेटिक्सतर्फ स्वर्ण पदक विजेता एम साजन सुनारले भने,
“राष्ट्रिय प्रतियोगितामा प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि सबैभन्दा खुशीको कुरा हो । घाम, पानी, चिसोले खेलमा कुनै अर्थ राख्दैन ।”
उनले प्रतियोगितामा सहभागी हुने अवसरले गर्मीलाई गौण बनाइदिएको बताए ।
बाँकेका अभिमान चौधरी पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी जनाउँदै छन् । भारोत्तोलन खेलाडी चौधरीले गर्मीले प्रतियोगितालाई कुनै असर नगर्ने बताउँदै आफ्नो प्रतिभा देखाउने अवसर नजिकिएकामा खुशी व्यक्त गरे ।
“प्रतियोगितामा सहभागी हुन पाउनु नै गर्वको कुरा हो, गर्मी त आउँछ जान्छ, प्रतियोगितामा भाग लिने अवसर सधैँ आउने कुरा हुँदैन,” उनले भने ।
एथलेटिक्सकी खेलाडी विश्वरुपा बुढाले सातौँ राष्ट्रिय प्रतियोगितामा बाँकेबाट प्रतिष्पर्धा गर्दै एथलेटिक्समा स्वर्ण पदक जितिन्। “प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि सबैभन्दा ठूलो अवसर हो,” उनले भनिन् ।
“आठौँमा पनि प्रतिभा देखाउन पाइने भयो, साह्रै खुशी लागेको छ ।” उनले नेपालगञ्जमा गर्मी बढिरहे पनि यसले खेल खेल्न कुनै असर नगर्ने बताइन् ।
“खेलाडीका लागि प्रतियोगिता हुनु ठूलो कुरा हो, घाम, पानी, चिसो जस्तोसुकै मौसममा पनि हामी खेल्न सक्छौँ,” उनले भनिन् । प्रतियोगिताको मिति तय भएपछि खेलाडीमा उत्साह जागेको एथलेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले बताए ।
उनका अनुसार खेलाडीहरु स्वतःस्फूर्त रुपमा अभ्यास गरिरहेका छन् । “प्रतियोगिताले नै खेलाडीको भविष्य निर्धारण गर्छ, प्रतियोगिता भएन भने खेलाडीको प्रतिभा मरेर जान्छ,” उनले भने ।
तोडिँदै इतिहास
विगत ३३ वर्षयता राष्ट्रिय खेलकुदको कुनै पनि संस्करण नियमित समयमा आयोजना हुन सकेको छैन ।
विसं २०७५ सम्म आइपुग्दा १८ वटा संस्करण आयोजना भइसक्नुपर्ने भए पनि यस अवधिमा सातवटा संस्करण मात्र सम्भव भएका छन् । सातौँ संस्करण आयोजना भएको दुई वर्षमै नेपालगञ्जमा हुने आठौँ संस्करणले ३३ वर्ष लामो इतिहास तोड्दैछ ।
विसं २०४२ मा सम्पन्न तेस्रो संस्करणपछि कहिले पनि राष्ट्रिय खेलकुद नियमित समयमा आयोजना हुन सकेको छैन । यसले सरकार र सम्बद्ध खेल अधिकारीका लागि पनि खेलकुद क्षेत्रप्रतिको आफ्नो प्रतिबद्धता दर्शाउने गतिलो अवसर दिएको छ ।
सरकार तथा आयोजक कुनै पनि हालतमा निर्धारित समयमै आठौँ राष्ट्रिय खेलकुद आयोजना गर्न प्रतिबद्ध देखिनुले लामो समयदेखि अनियमित बनेको राष्ट्रिय खेलकुदको ‘क्यालेन्डर’लाई सुधार्ने यो सबैभन्दा उपयुक्त अवसर रहेको प्रदेश ५ खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले बताए ।
नेपालगञ्जलाई चुनौती
विसं २०७३ मा पूर्वाञ्चलमा आयोजना भएको सातौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा आठौँ संस्करण नेपालगञ्जमा आयोजना गर्ने भनेर घोषणा गर्न आयोजकलाई ठूलै कसरत गरेको थियो ।
वलीले भने,“तथ्य कसैसँग लुकेको छैन । हामीले पोखरामा हुनुपर्ने आठौँलाई नेपालगञ्ज ल्याएका हौँ जसका कारण पनि हामीलाई निर्धारित समयमा प्रतियोगिता सक्नुपर्ने ठूलो दबाब थियो । त्यो चुनौती पूरा हुँदैछ ।”
उनका अनुसार धरानमा सातौँको समापन समारोह शुरु भइसक्दासम्म पनि आठौँ आयोजनाको विषयलाई लिएर सम्बद्ध खेल अधिकारीबीच विवाद जारी थियो । अन्तिम समयमा आएर मात्र नेपालगञ्जले आठौँ आयोजनाको अधिकार पाएको थियो ।
त्यसो त तत्कालीन समयमा राष्ट्रिय खेलकुद पालैपालो पाँचवटै विकास क्षेत्रमा आयोजना गर्ने परम्परा थियो । सो अनुरूप २०४० सालमा दोस्रो पोखरामा र २०५५ सालमा चौथो नेपालगञ्जमा आयोजना भएको थियो ।
उनले अबको चुनौती खेल सञ्चालन र खेलाडीको व्यवस्थापन मात्रै भएको बताउँदै त्यसमा पनि आफूहरु सफल हुने दावी गरे ।
प्रदेश संरचनामा पहिलो
राष्ट्रिय खेलकुदको शुरुवात अञ्चलगत संरचनाका आधारमा भएको थियो । त्यस बखत १४ वटा अञ्चलका टोलीले प्रतियोगितामा भाग लिन्थे । विस्तारै पाँच विकासखत १४ वटा अञ्चलका टोलीले प्रतियोगितामा भाग लिन्थे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया