१० रुपैयाँमा सपिङ ! सुखावती स्टोरको प्रशंसनीय प्रयोग

काठमाडौं । करिब ७ वर्षीय जतिकी देखिने प्रतीक्षा आफ्ना आमाबाबासँग कपडा किन्न सुखावती स्टोर आइन् । आमाबाबा कपडा छान्नतिर लागे । उनका आँखा भने एक जोर चप्पलमा टक्क अडिए । चप्पल उनको आवश्यकता होइन रहर थियो । रहर पूरा भयो । रमाउँदै उनले चप्पल लगाइन् । चप्पलको मुल्य १० रुपैयाँ । उनका कलिला ओंठ मुस्कुराए अनि मुस्कुराए पिंक कलरको जुत्तामा सजिएका कलिला गोडाहरु ।

सीमित आवश्यकता पनि पूरा गर्ने हैसियत नभएका प्रतीक्षाका आमाबाबा आजकल उनका केही रहर पूरा गर्न सक्ने भएका छन् । कारण हो, सुखावती स्टोर । यहाँ सस्तो मूल्यमा महंगो खुसी बाँडिन्छ । ६ वर्षदेखि श्रमिक र गरिब परिवारको हराएको खुसी फिर्ता गरिदिएको छ, सुखावती स्टोरले । 

‘जहाँ भएपनि सामान किन्न यहीँ आइपुग्छौं,’ रिर्पोटिङका लागि सुखावती स्टोर्स पुग्दा सामान किन्न आएका प्रतीक्षाका बाबा दिपक भन्छन्, ‘हामीजस्तो ज्याला मजदुरी गर्नेहरुका लागि सुखावती स्टोर ‘भयङ्कर ठूला सपिङ मल’ भन्दा बढ्ता हो ।’ त्यस्तै प्रतीक्षाकी आमा गीता मुस्कुराउँदै थप्छिन्, ‘नयाँ लुगा लाउन दशैं पर्खनु पर्दैन आजकल’।

गोंगबु बसपार्क देखि बानियाँटार रोड हुँदै २.३ किमि दक्षिण लागेपछि पुगिन्छ सुखावती स्टोर । हेर्दा सामान्य पसलजस्तै लाग्ने यहाँ जुत्ताचप्पल, कपडा, किताब, भाँडा, कम्प्युटर आदि उपयोगमा आउने सबै सामाग्री राखिएको छ । अन्य पसलभन्दा यो यसकारण पनि भिन्न छ कि यहाँ भएका सामाग्रीको मूल्य १० रुपैयाँबाट शुरु हुन्छ । सामानको गुणस्तर र अवस्था अनुसार त्यसभन्दामाथि मूल्य तोकिएको छ । 

सुखावती स्टोरले त्यही तहका व्यक्तिको आवश्यकतालाई पूरा गरेको छ । प्रतीक्षा र उनको परिवार यसको ज्वलन्त उदाहरण हुन् । नयाँ लुगाको लागि दशैँ पर्खिने परिवारहरुको खुसी फर्काइदिएकोमा दङ्ग छन् चिजमान गुरुङ । यो नौलो अवधारणा नेपालमा भित्र्याउने सोच पनि उनै चिजमान को हो । 

बेच्न राखिएका सामान नयाँ भने होइनन् । सेकेण्ड ह्यान्ड हुन् । । प्रयोगमा आइसकेका पुराना तर, अझै पनि प्रयोग गर्न मिल्ने सामाग्रीहरु डोनेसनका रुपमा लिएर बेचिरहेको छ सुखावती स्टोरले ।

हाम्रो समाजमा अझै पनि एक तहका यस्ता व्यक्ति छन् जो दोहो-याएर लुगा र चप्पल लगाउँदैनन् । ग्याजेट र इलेक्ट्रोनिक्सका नयाँ मोडल र अप्ग्रेडेड भर्जन पर्खेर बस्छन् । घरलाई ‘न्यू लुक’ दिने भन्दै केही वर्ष प्रयोग गरेका पर्दा, कार्पेट, भाँडाकुँडा स्टोर रुममा थन्काउँछन् । 

त्यस्तै अर्को तह यस्तो पनि छ जसको शरीरले कैयौं हिउँद एउटै स्वीटर १० ठाउँ टालेर गुजारेको हुन्छ । जोसँग अत्यावश्यकीय आवश्यकता पूर्ति गर्ने कुनै उपाय हुँदैन । जसका सीमित आवश्यकता पनि ‘मन’ मा नै गुम्सिएर थन्किन्छन् । सुखावती स्टोरले त्यही तहका व्यक्तिको आवश्यकतालाई पूरा गरेको छ । प्रतीक्षा र उनको परिवार यसको ज्वलन्त उदाहरण हुन् । नयाँ लुगाको लागि दशैँ पर्खिने परिवारहरुको खुसी फर्काइदिएकोमा दङ्ग छन् चिजमान गुरुङ । यो नौलो अवधारणा नेपालमा भित्र्याउने सोच पनि उनै चिजमान को हो । 

कास्कीको सामान्य परिवारमा जन्मिएका उनी वैदेशिक रोजगारका क्रममा कोरिया पुगे । सानैमा बुबाको निधन भएकाले पनि आफ्नो ध्यान पढाइभन्दा पनि कमाउनमै बढी गएको उनले सुनाए । ‘मतवाली परिवारमा जन्मिएकाले सानैदेखि लाहुरे बन्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘लाहुरे लाग्न नसकेपछि कोरिया पुगें ।’ 

करिब २ दशक भन्दा बढी समय कोरियामा बिताएका उनले यस्तो पृथक अवधारणा त्यहीँ सिकेको बताए । कमाउनका लागि भन्दा पनि सिक्नकै लागि झन्डै २ वर्ष कम पैसामा यस्तै स्टोरमा काम गरेको सुनाए । ‘कोरियामा मात्र नभएर यूरोपतिर पनि यस्तो अवधारणामा बिजनेस गरिदो रहेछ तर नेपालमा थिएन,’ चिजमान थप्छन्, ‘त्यसैले आफ्नो योजनालाई साकार रुप दिन देश फर्किएँ’।

सन् २०१३ मा केही सहयोगी हातहरुसँग मिलेर बसुन्धारा बजारको सडकमै व्यापार शुरु गरे ।

चिजमानलाई अझै याद छ व्यापारको पहिलो दिन जब एक वृद्ध व्यक्ति जो खाली खुट्टा आएका थिए आफ्ना गोडामा जुत्ता लगाएर फर्किए । साथसाथै केही थोपा आँसु र अथाह आभार बिसाएर गए । त्यही दिन उनले ठाने ‘देशका विभिन्न ठाउँमा आफ्नो व्यापार फैलाउँछु’ । २०१३ मा सडकबाट शुरु भएको यो यात्रा अहिले सुखवती स्टोरमा परिणत भएको छ । विगत ५ वर्षदेखि ।

त्यसो त कोरियाले उनलाई सीप र पैसा मात्र होइन जीवनसाथी पनि दिलायो । उनकी श्रीमती कोरियाली नागरिक हुन् । भलै उनी अहिले कोरियामै छिन् तर, आफ्नो व्यापार व्यवसायलाई व्यवस्थित बनाएपछि परिवारलाई नेपालमै ल्याउने योजना बनाएको चिजमानले बताए । त्यसैले उनी नेपालमै रहेर आफ्नो पूरै समय आफ्नो रेस्टुरेन्ट र सुखावती स्टोरलाई नै दिइरहेका छन् ।

सुखावती स्टोर सेवा र बिजनेस दुवैलाई सँगै डो-याउने सोसल इन्टरप्राइजेज भएको बताउँछन् चिजमान । ‘यहाँ सामान दिनेमात्रै होइन लिनेले पनि सेवा गरिरहेको हुन्छ’, आफ्नो भनाइलाई प्रष्ट्याउँदै उनी थप्छन्, ‘किनकी प्राप्त रकमबाट हामीले विभिन्न सामाजिक क्षेत्रमा लगानी तथा सहयोग दुवै गरिरहेका छौं’ ।

धेरैजनाले यस स्टोरलाई सस्तो मूल्यमा सेकेण्ड ह्याण्ड सामान पाइने ठाउँका रुपमा चिने पनि चिजमानका अनुसार यस स्टोरको मूल मर्म भने बेग्लै छ । सामानहरुको पुन प्रयोग गरेर वातावरण स्वच्छ राख्ने, आम्दानीको बाटो बनाउने र सेवा गर्ने अर्थात प्लानेट, प्रफिट एण्ड पिपल ‘थ्री पी’ को अवधारणामा चलिरहेको छ सुखावती ।  

सुखावती स्टोर सेवा र बिजनेस दुवैलाई सँगै डो-याउने सोसल इन्टरप्राइजेज भएको बताउँछन् चिजमान । ‘यहाँ सामान दिनेमात्रै होइन लिनेले पनि सेवा गरिरहेको हुन्छ’, आफ्नो भनाइलाई प्रष्ट्याउँदै उनी थप्छन्, ‘किनकी प्राप्त रकमबाट हामीले विभिन्न सामाजिक क्षेत्रमा लगानी तथा सहयोग दुवै गरिरहेका छौं’ । यस बिजनेस मोडलले नेपालमा थुप्रै रोजगारीको अवसर पनि सिर्जना गर्ने बताउँछन् उनी ।

सुखावतीले सेकेण्ड ह्यान्ड सामान होइन सेकेण्ड लाइफ दिने चिजमानको भनाइ छ । ‘यहाँ पुराना सामानले नयाँ मालिक पाउँछन् र दबिएका रहरले पूरा हुने नयाँ बाटो’ मुस्कु्राउँदै चिजमान थप्छन्, ‘त्यसैले त यहाँ आउने मानिसले झोलामा सामान होइन खुसी भरेर लग्छन्’ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?