काठमाडौं । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज ‘बुधवार’देखि शुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट यहि बैशाख ५ गते आठौँ खेलकुदको बिधिवत उद्घाटन गर्ने कार्यक्रम रहे पनि केहि खेलहरु बुधवारबाटै शुरु भएको हो । प्रतियोगिता अन्तर्गत स्क्वास खेलको सूूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुधवार उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाट्न कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्टले सञ्चारमन्त्री बाँस्कोटाद्वारा पहिलो खेलको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताए ।
आठौँ खेलकुदअन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा आज ‘बुधवार’देखि शुरु भएको हो । समापन बैशाख ११ गते हुनेछ ।
उद्घाटन र समापन दुवै नेपालगन्ज रंगशालामा हुने कार्यक्रम रहेको छ । दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस भइरहेको छ ।
उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, नेपाल स्क्वास संघका अध्यक्ष किशोर महर्जन लगायत खेल पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
आठौँ राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् ।
३ सय ७२ स्वर्ण, त्यत्ति नै रजत र ५ सय ६३ कास्य पदकका भिडन्त हुनेछ । बृहत राष्ट्रिय खेलकुदको पहिलो, दोश्रो र तेश्रो संस्करण बाहेक दुई वर्षको अन्तरालमा पहिलो पटक राष्ट्रिय खेलकुद हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया