नेपाल लाईफ इन्स्योरेन्स : बीमितको पैसा हिनामिना काण्ड गुपचुपमै सेटल, प्राधिकरणले काटेको पत्र कर्मकाण्डी मात्रै

लोकपथ
154
Shares

काठमाडौं । नेपाली बीमा क्षेत्रका सेलिब्रेटी प्रमुख कार्यकारी अधिकृतकोरुपमा चिनिने गरेका नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली र उनले व्यवस्थापन गरेको कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी एक पछि अर्को काण्डमा मुछिदैं जाँदा उक्त कम्पनीप्रतिको जनबिश्वास घट्दै जान थालेको छ ।

कम्पनीले स्वघोषितरुपमा आफुलाई सबैभन्दा ठुलो जीवन बीमा कम्पनी भन्ने गरेतापनि कम्पनीमा भएका बेथिती र अनियमितताकाकारण पछिल्लो समय यो कम्पनीको क्रेज खस्किंंदै गएको छ ।

कम्पनीको क्रेज अर्थात जनबिश्वास घट्नुमा केही समयअघि भएको आर्थिक अनियमितको काण्ड पनि प्रमुख देखिएको छ । कम्पनीको नेसनल सेल्स हेड उमापति पोखरेलको मिलेमतोमा बीमितको पैसा हिनामिना भएको भन्दै नेपाल बीमा प्राधिकरणमा उजुरी परेको थियो ।

प्राधिकरणमा परेको उजुरीमा इन्स्योरेन्सकै उच्च तहका कर्मचारी नेसनल सेल्स हेड पोखरेलको मिलेमतोमा बीमितको बीमा पोलिसीको दुरूपयोग गरी आर्थिक हिनामिना भएकोमा तल्लो तहका कर्मचारीहरूलाई मात्र कारबाही गरी सेल्स हेड पोखरेलमाथि कुनै किसिमको सोधपुछ समेत नगरी उम्काइएको थियो । यसरी उम्काउनुमा प्रमुख कार्यकारी अधिकृत पराजुलीको सबैभन्दा ठुलो हात देखिएको छ । पोखरेलले प्रमुख कार्यकारी अधिकृत पराजुली कै निर्देशनमा रकम हिनामिना गरेको र त्यसको नजराना समेत बुझाएकाकारण पराजुलील पोखरेललाई जोगाउन ठुलो भुमिका खेलेको दावी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी श्रोतको दावी छ ।

श्रोतका अनुुसार पोखरेलालाई जोगाउनको लागि पराजुलीले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणसंग समेत सेटिङ मिलाएका थिए । सोहीकारण बिमितको रकम हिनामिना गर्ने र गराउने दुबै चोखिए, प्राधिकरणले कारवाहीको नाउँमा स्पष्टीकरण सोध्ने मात्रको काम गरेर सुनपानी छर्किने काम गर्यो, श्रोतले भनेको छ । नेपाल लाईफमा बिमितको पैसा हिनामिना भएको प्रकरणमा प्राधिकरणका नियमन शाखाका सहायक निर्देशक प्रदिप गौतमले इन्स्योरेन्सलाई पठाएको पत्रमा उजुरीको प्रतिलिपीसहित पठाएको र सो उजुरीको सम्बन्धमा के–कसो भए/गरेको हो सोको यथार्थ विवरण खुलाई पत्र प्राप्त भएको मितिले सात दिनभित्र प्राधिकरणमा प्रतिवेदन पेस गर्न निर्देशन अनुसार अनुरोध गरिन्छ, भनिएको थियो ।

इन्स्योरेन्सले तत्कालीन प्रदेश प्रमुख रहेका प्रेमप्रसाद अर्याललाई आर्थिक अनियमितता गरेकाले सेवाबाट बर्खास्त गरेको भनिए पनि सो रकम अनियमिततामा नेसनल सेल्स हेड पोखरेलसँग समेत भाग लगाएको र कम्पनीले अर्याललाई मात्र कारबाही गरेकाले छानबिन गर्न उजुरीमा माग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?