सन्त नेता भट्टराईको पान मोह : ‘निधनको शोकमा पान पसल नै बन्द, शवमै पान समर्पण’

लोकपथ
0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराई पानका सौखिन थिए । पानका लागि न्युरोड, नयाँ बानेश्वर र कमलपोखरीसम्म पुग्थे । राजनीतिका सुरुवाती दिनमा मात्रै होइन उनी प्रधानमन्त्री हुँदा समेत काठमाडौंका विभिन्न पसलमा पानका लागि पुग्ने गरेका थिए ।

उनको निधनको शोकमा काठमाडौंका पान पसल बन्द गरिएका थिए । पसल अगाडि उनको तस्वीर राखेर श्रद्धाञ्जली प्रकट गरिएको थियो भने शोक पुस्तिकासमेत राखिएका थिए ।

भट्टराईलाई पान खुवाउनेमध्येका एक हुन्, नयाँ बानेश्वरको श्रीराम पान भण्डारका सञ्चालक शिवनारायण साह ।भट्टराईको शताब्दी जन्मजयन्तीको सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा साहले सन्त नेता दिवंगत भएको दिन सम्झँदै भने ‘मलाई सबैभन्दा धेरै दुःख लागेको दिन थियो त्यो । मैले मेरो जीवनमै त्यस्तो मान्छे भेटेको छैन । नेताका रुपमा मात्रै होइन सादा जीवन र प्रेरक व्यक्तिको रुपमा पनि नेपाली राजनीतिमा उनी जस्तो नेता छ जस्तो मलाई लाग्दैन ।’ निधनको दिन आफूले ‘पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको निधन भएकोमा भावपूर्ण शोक व्यक्त गर्दछौं,’ लेखेर पसलको सटरमा टाँसेको र दुई दिन शोकमा पसल नै बन्द गरेको उनले सम्झिए ।

भट्टराई नेता हुँदा मात्रै होइन प्रधानमन्त्री हुँदा समेत पान खान श्रीराम पान भण्डार पुग्थे । निधन हुनु तीन–चार वर्ष अघिसम्म भट्टराई आफैं भण्डारमा पुगे पनि बिरामी हुँदै गएपछि आवागमन पातलिएको साहले सुनाए । उनले भने, ‘गाडीबाट ओर्लदैनथे, उनका मान्छेहरू पान लिएर जान्थे, पछि त पानी लिन सहयोगी मात्र आउँथे ।’

प्रधानमन्त्री हुँदा समेत आफ्ना सुरक्षाकर्मीलाई पहिल्यै पान तयार गर्न भन्न पठाउने गरेका भट्टराई आफैंआएर समेत पान लिएर गएका सम्झना साहसँग छन् ।

‘सवारीको बेला अगाडि गुड्ने त्यो सेतो मोटरसाइकल हुन्छ नि त्यो । पहिल्यै आउँथ्यो त्यो साइरन बजाउँदै आउनबसाथ पान बनाउनु पर्छ भन्ने थाहा हुन्थ्यो । ती सुरक्षाकर्मी आउँथे, अनि पान लिएर जान्थे,’ साहले भने ।

बानेश्वरको पानी ट्यांकी अगाडिको आकाशेपुल भन्दा थोरै उत्तरतर्फ छ साहको पान पसल । कुनै समय पान खान प्रधानमन्त्रीसमेतको जमघट हुनेका पसलमा हिजोआज पहिलेको जस्तो शीर्ष नेताहरुको जमघट हुदैन ।
त्यसो त पूर्व प्रधानमन्त्री सुशील कोइराला, शेरबहादुर देउवा लगायतका नेता पनि उनको पान पसलमा पटक–पटक पुगेका छन् । देउवा पान खाँदैनथे चुरोट मात्रै पिउँथे ।

आजभोलि कोही नेता आएको नआएकोमा उनलाई कुनै वास्तै छैन । यतिसम्मकी भट्टराईको निधनपछि उनले कुनै पनि पार्टीलाई भोट समेत हालेका छैनन् । साह भन्छन् ‘हाम्रो देशमा कोही नेता छ र ? कांग्रेस कहाँ कांग्रेस जस्तो छ ।’
आफूले बनाएको पान मन पराउने भएर मात्रै होइन्, सादगी, देशप्रेमी लोकप्रिय नेताको निधन भएको दिन पार्थीव शरीर राखिएको ठाउँमा पुगेर भट्टराईलाई मनपर्ने पान चढाएको उनको भनाइ छ ।

२०४४ सालतिर पसलमा पान खान आएकै बेला भेट भएका ती व्यक्ति नै देशको प्रधानमन्त्री हुन्छन् भन्ने कुनै अनुमान समेत थिएन । तर ख्यालठट्टा गर्ने र सबैसँग उस्तै नम्र व्यवहार देखाउने उनीबाट आफू अति प्रभावित भएको र आफूले उनको निधनपछि कुनै पनि निर्वाचनमा समेत भाग नलिएको साहले बताए ।

विसं. १९८१ पुस ८ मा जन्मिएका भट्टराईको २०६७ फागुन २० मा निधन भएको थियो । नेपाली कांग्रेसका पूर्वसभापति उनी नेपालको पहिलो संसद्का पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछिका पहिलो प्रधानमन्त्रीसमेत हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?