काठमाडौं । लघुवित्तहरुलाई जारी गरिएको एकिकृत निर्देशन, २०७९ संशोधनर परिमार्जन थप गर्दै नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको लागि नयाँ निर्देशन जारी गरेको छ ।
आईतबार लघुवित्त वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था कार्यान्वनमा ल्याउन निर्देशन दिएको हो ।
निर्देशन अनुसार लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा देहायका शर्तहरुको अधीनमा रही एक पटकको लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्नेछन् ।
यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८० चैत मसान्तसम्म निवेदन लिई २०८१ वैशाख मसान्तभित्र गरिसक्नु पर्नेछ ।
राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा एक वर्ष थप हुने गरी पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिनेछ ।
उपर्युक्त बमोजिम पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जाहरुलाई पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्नुपर्ने स्पष्ट आधारहरु प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्नेछ ।
कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको कम्तीमा पाँच प्रतिशत ब्याज रकम असुल उपर भएको हुनुपर्नेछ । कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पुँजीकरण गरी आम्दानी जनाउन पाइने छैन ।
उक्त रकमलाई छुट्टै खातामा लेखांकन गरी ब्याज असुल भएपश्चात् मात्र आम्दानीका रुपमा देखाउन सकिनेछ ।
राष्ट्र बैंकका अनुसार पुनरतालिकीकरण वा पुनरसंरचना गरेवापत ऋणीबाट कुनै पनि प्रकारको शुल्क/हर्जाना लिन पाइने छैन । पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जाको किस्ता लगातार ६ महिनासम्म नियमित भए पश्चात् मात्र त्यस्ता कर्जालाई असल कर्जामा वर्गीकरण गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा समायोजन गर्न पाइने छ ।
पुनरतालिकीकरण वा पुनरसंरचना पश्चात् कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता हुने अवस्था आएमा फिर्ता गरिए बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखांकन गर्नुपर्नेछ । यसरी लेखांकन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न पाइने छैन । पुनरतालिकीकरण पुनरसंरचना गरिएको कर्जा असल बर्गमा बर्गीकरण भएपश्चात् मात्र उपरोक्त खातामा लेखांकन गरिएको रकम सञ्चित मुनाफा हिसाबमा समायोजन गर्न सकिनेछ ।
यसअघि भने लघुवित्त वित्तीय संस्थाले उक्त संस्थाका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा देहायका शर्तहरुको अधीनमा रही एक पटकको लागि कर्जाको पुनरतालिकीकरण पुनरसंरचना गर्न सक्नेछन् र यस्तो पुनरतालिकीकरण पुनरसंरचना २०८० असार मसान्तभित्र तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया