काठमाडौं । बैंकिङ क्षेत्रको कुल कर्जा रकम ५० खर्ब रुपैयाँ नाघेको छ ।
नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अधावधिक गरेको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा सम्वन्धी प्रतिवेदन अनुसार सञ्चालनमा रहेका २० वटा बाणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ५४ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले यही पुस पाँच गतेसम्ममा ५० खर्ब पाँच अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन । यस अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम भने ६० खर्ब ३४ अर्ब रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा बाणिज्य बैंकहरुले मात्र कुल ५३ खर्ब ४२ अर्ब रुपैंयाँ निक्षेप संकलन गरी ४४ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । बिकास बैंक र फाईनान्स कम्पनीहरुले भने यस अवधिमा कुल छ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ७६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको यो तथ्यांकलाई आधार मान्दा अहिले अहिले बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जाको बिचमा १० खर्ब २९ अर्ब रुपैयाँ फरक देखिएको छ । अहिले बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा अनुपात (सिडी) रेसियो ८० दशमलव १८ रहेको छ । सोही आधारमा पनि बैंकिङ क्षेत्रको हालको अवस्थामा पनि पाँच खर्ब रुपैयाँ भन्दा बढी कर्जा दिन सक्ने अवस्थामा रहेका छन् । तर बजारमा कर्जाको माग नहुँदा बैंकिङ क्षेत्रमा अधिक तरलता थुप्रिदा राष्ट्र बैंकले यही अधिक तरलतालाई नियन्त्रणमा राख्न सात दिने, १४ दिने लगायतका अल्पकालीन अवधिको मौद्रिक उपकरण जारी गरिरहेको छ ।
यही पुस ११ गते बुधबार जारी हुन लागेको १४ दिने अवधिको ३५ अर्बको निक्षेप उपकरण पनि सोही प्रकृतिको रहेको राष्ट्र बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया