काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्ले बुधवारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ ।
सिजनको कुल आठमध्ये यो प्रतियोगितामा गत सिजनमा अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ खेलाडीले खेल्न पाउनेछन् । तर, यो पटक नेपाल नम्बर एक शुक्रबहादुर राईसँगै उत्कृष्ट १६ मा पर्ने चार खेलाडीले सहभागिता जनाउने छैनन् ।
यही कारण अर्डर अफ मेरिटको उत्कृष्ट २० सम्म पर्न सफल खेलाडीले यो प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्नेछन् । शुक्रसँगै १४औं वरीयताका टंकबहादुर राई, १५औं वरीयताका बलभद्र राई र १६औं वरीयताका कमल तामाङले व्यक्तिगत कारण नखेल्ने भएका हुन् ।
चार खेलाडीले नाम फिर्ता लिँदा अर्डर अफ मेरिटमा दोस्रो स्थानमा रहेका भुवन नगरकोटी यो प्रतियोगिताका टप सिडेड खेलाडीको रूपमा रहनेछन् । १७ औं वरीयताका दीपक मगर, १८औंका तोरणविक्रम शाही, १९औंका प्रदीपकुमार लामा र २०औं वरीयताका रामकृष्ण श्रेष्ठले म्याच प्लेमा स्थान बनाएका छन् ।
म्याच प्लेको ड्रअनुसार भुवन नगरकोटीले पहिलो चरणमा २०औं वरीयताका रामकृष्ण श्रेष्ठसँग खेल्नेछन् । तेस्रो वरीयताका नीरज तामाङको सामना १९औं वरीयताका प्रदीपकुमार लामाले गर्नेछन् । डिफेन्डिङ च्याम्पियन तथा चौथो वरीयताका दिनेश प्रजापतिले १८औं वरीयताका तोरणविक्रम शाहीसँग खेल्नेछन् । यस्तै १७औं वरीयताका दीपक मगरले पाँचौ वरीयताका जयराम श्रेष्ठलाई प्रतिद्वन्द्वीको रूपमा पाएका छन् ।
यसैगरी पहिलो चरणकै अर्को खेलमा छैटौं वरीयताका सञ्जय लामा र १३औं वरीयताका शिवराम पौडेलबीच प्रतिस्पर्धा हुनेछ। सातौं वरीयताका रबि खड्काको सामना १३औं वरीयताका रमेश अधिकारीले गर्नेछन् । अर्को खेलमा आठौं वरीयताका रामे मगर र ११औं वरीयताका सूर्यप्रसाद शर्माबीच क्वाटर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै नवौं वरीयताका धनबहादुर थापा र १०औं वरीयताका भुवनकुमार रोक्काले पहिलो चरणको खेलमा एक अर्काको सामना गर्नेछन् ।
पहिलो चरणका विजेता आठ खेलाडी क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनल खेलहरू बिहीबार हुनेछन् । सेमिफाइनल शुक्रबार हुनेछ । पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ । शनिबार हुने फाइनल खेल भने ३६ होलको हुनेछ ।
खेलाडीहरूले कुल २ लाख ५० हजार नगद पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा पराजित हुने आठ खेलाडीले जनही ६ हजार तथा क्वाटरफाइनलमा पराजित चार जनाले ११ हजार प्राप्त गर्नेछन् । विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुनेले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् ।
नेपाल पीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले व्यावसायिक गल्फमा निरन्तर सहयोग गरेकोमा प्रमुख प्रायोजक सूर्य नेपाल प्रालिलाई धन्यवाद दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया