काठमाडौं। नेपाल तरूण दलले जाजरकोट भूकम्पपीडितहरूका लागि ७२ वटा अस्थायी आवास बनाइदिएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरूङसहित केन्द्रीय नेताहरूको टोली नै अस्थायी आवास निर्माणका लागि जाजरकोट पुगेको थियो ।
उनीहरूले त्यहाँ नौ दिनसम्म आफैँ खटिएर अस्थायी आवास निर्माणका लागि काम गरे, स्वयम्सेवक परिचालन र समन्वय गरे । बुधबारसम्म ७२ वटा अस्थायी आवास निर्माण गरेपछि तरुण दलको टोली काठमाडौँ फिर्ता भएको अध्यक्ष गुरूङले बताए ।
उनका अनुसार तरुण दलले भेरी नगरपालिका वडा नं. १, ३ र ४ का विभिन्न गाउँहरूमा ७२ वटा अस्थायी आवास निर्माण गरी पीडित परिवारलाई हस्तान्तरण गरेको छ । आवास निर्माणका लागि तरूण दलको ५० जनाको टोली खटिएको थियो ।
‘सरकारले भूकम्पपीडितका लागि यहाँ राहत संकलन गरेको छ ।
तर गाउँमा मान्छेहरू चिसोबाट गुज्रिएर बाँचिरहेका छन्,’ अध्यक्ष गुरूङले भने, ‘सरकारले आवश्यकताअनुसार राहत पु-याउन सकेको छैन । अस्थायी आवास निर्माण गर्न सकेको छैन ।’
तरुण दलले चलाएको अस्थायी आवास निर्माण अभियानमा सामेल हुन तरुण दलका पूर्वअध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य उदय शमशेर राणा समेत जाजरकोट पुगेका थिए । त्यसक्रममा केन्द्रीय सदस्य राजीव विक्रम शाहसहितले समेत अभियानमा सहभागिता जनाए ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका सांसद राणाले सरकारले गर्न नसकेको काम तरुण दलले गरेको बताए ‘पीडितहरूको अवस्था निकै दुःखदायी रहेछ, अहिले पनि सरकारले जति गर्नुपर्ने थियो, त्यो गरिरहेको छैन,’ उनले भने, ‘हामीले व्यक्तिगत र संस्थागत हिसावले जे जति सक्ने हो, त्योअनुसार पीडितहरूको घाउमा मल्हम लगाउने काम गरेर फर्किएका छौँ ।’उनले तरुण दलले अन्यहरूको भन्दा व्यवस्थितरुपले काम गरेर आएको दाबी समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया