काठमाडौं । बैंकिङ क्षेत्रमा नयाँ कर्जाको माग नहुँदा बैंक तथा फाईनान्स कम्पनीहरु अधिकतरलताको समस्याबाट पिरोलिएका छन् ।
अधिकतरलतालाई नियन्त्रणमा राख्नको लागि राष्ट्र बैंकले पछिल्लो डेढ महिनाको अवधिमा १४ पटक बिभिन्न अवधिका निक्षेप उपकरण जारी गरेको भएपनि अझै पनि अधिक तरलताको समस्या समाधान हुन सकेको छैन ।
राष्ट्र बैंकका अनुसार यही पुस सात गतेसम्म बैंकिङ क्षेत्रको कुल निक्षेप ६० खर्ब ३४ अर्ब रुपैंयाँ पुगेको भने कुल कर्जा रकम ५० खर्ब सात अर्ब रुपैंयाँ पुगेको छ ।
सो अनुसार बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा बिचको अन्तर नैं १० खर्ब २७ अर्ब रुपैंयाँ देखिएको छ । बैंकिङ क्षेत्रमा हाल कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सिडी) रेसियोलाई आधार मान्दा नेपाली बैंकिङ क्षेत्र आजको दिनमा छ खर्ब रुपैंयाँ कर्जा दिन सक्ने अवस्थामा रहेको छ । तर बजारमा कर्जाको माग नहुँदा यो रकम बैंकिङ प्रणालीमा त्यतिकै थुप्रिएको छ अर्थात बैंकिङ क्षेत्रमा अधिकतरलता देखिएको छ । आर्थिक बिकासको लागि लगानी गर्नुपर्ने रकम त्यतिको थुप्रिनु अर्थतन्त्रको लागि राम्रो होईन, त्यस्तो रकम दुरुपयोग हुन सक्छ ।
त्यहीकारण पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई नियन्त्रणमा राख्नको लागि मंसिर र पुस महिनाको हालसम्ममा १४ पटकमा दुई खर्ब ५० अर्ब रुपैंयाँ बराबरको निक्षेप उपकरण जारी गरी बित्तीय प्रणालीबाट रकम खिचिसकेको छ ।
अल्पकालीन अवधि अर्थात सात र १४ दिने अवधिको निक्षेप उपकरण जारी गरेर राष्ट्र बैंकले यस्तो रकम खिचेको हो ।
यसरी जारी गरेको निक्षेप उपकरण मध्ये एक खर्ब ३५ अर्ब रुपैंयाँ बराबरको निक्षेप उपकरण परिपक्व भएको र सो रकम बैंकिङ प्रणालीमा पुन फिर्ता गईसकेको राष्ट्र बैंकको भनाई छ । बाँकी रहेको एक खर्ब १५ अर्ब रुपैंयाँ बराबरको निक्षेप उपकरण पनि परिपक्व हुने प्रकृयामा रहेको छ । यो अवस्थामा निक्षेपको आकार हेरेर अधिकतरलतालाई नियन्त्रणमा राख्ने अझै पनि निक्षेप उपकरण जारी गर्नु पर्ने अवस्था आउन सक्ने राष्ट्र बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया