काठमाडौं । प्रधानमन्त्री कप महिला टी २० क्रिकेटमा विभागीय क्लब एपीएफले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । प्लेअफमा पुगिसेकेको एपीएफले लगातार छैटौं जित निकालेको हो ।
कीर्तिपुर मैदानमा आज भएको खेलमा एपीएफले गण्डकी प्रदेशविरुद्ध ५२ रनको जित निकाल्न सफल भयो । पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ३ विकेट गुमाएर १२७ रन बनाएको थियो । जवाफमा गण्डकी प्रदेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर ७५ रनमात्रै जोड्न सक्यो ।
पहिला ब्यािटङ गर्दा एपीएफका लागि ममता चौधरीले नटआउट ४० रनको पारि खेलिन् । उनले ३३ बलमा ४ चौका प्रहार गरिन् । उनलाई रोमा थापाले ३१ रन नटआउट बनाएर साथ दिइन् । उनले ३१ बलमा १ छक्का र १ चौकाको मद्दतले ३१ रन नै बनाएकी थिइन् । यस्तै, कप्तान सीता रानामगर १९ तथा इन्दू बर्मा १० र ज्योती पाण्डे ८ रनमा पभेलियन फर्किएका थिए ।
गण्डकीका लागि ज्योत्स्निका मरासिनीले २ विकेट लिइन भने कुशम गोदारको नाउँमा १ विकेट रह्यो । १२८ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी निर्धारित ओभरमा ७ विकेट गुमाएर ७५ रनमा रोकियो ।
गण्डकीका लागि सुमन खतिवडा र सृष्टि जैशीले १७–१७ रन बनाउँदा ज्योत्स्निका मरासिनील्े १३ रन बनाइन् । यसैगरी सृजना पौडेलले ११ रन बनाएकी थिइन् ।
एपीएफका लागि नेरी थापाले सर्वाधिक ४ विकेट लिँदा सोनु खड्काले २ विकेट हात पारिन् । करुणा भण्डारीको नाउँमा १ विकेट रह्यो ।
जितसँगै एपीएफ १२ अंकका साथ शीर्ष स्थानमा रहँदा पराजित भएको गण्डकी भने २ अंकका साथ सातौं स्थानमा छ । छैटौं चरणको खेल सकिँदा प्लेअफ पुग्ने चार टिमकै टुंगो लागेको छ । अब समूह चरणको अन्तिम खेल भने बाँकी छन् । प्लेअफमा एपीएफ, कोशी प्रदेश, सुदूरपश्चिम र बागमति प्रदेश पुगेका छन् ।
समूह चरणका अन्तिम खेलमा अब शनिबार गण्डकी र सुदूरपश्चिम प्रदेश भिड्दा एपीएफ र बागममति आमने सामने हने छन् । यसैगरी सोही दिन मधेश प्रदेश र कर्णाली प्रदेश भिड्दा कोशी र लुम्बिनी प्रदेशबीचको खेल हुने छ ।
पुस १५ गते पहिलो क्वालीफायरको खेल हुने छ । पहिलो क्वाली फायरको विजेता सिधै फाइनलमा पुग्दा पराजित भएको टिमले एलिमिनेटर विजेतासँग फाइनल प्रवेशका लागि खृेल्ने अर्को मौका पाउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया