यी हुन् टेस्ट, एकदिवसीय र टीट्वान्टीका उत्कृष्ट ब्याट्सम्यान र बलर

लोकपथ
693
Shares

काठमाडाैं । सन् २०२३ आजबाट समाप्त हुँदैछ । २०२३ क्रिकेटका लागि निकै राम्रो वर्ष रह्यो । सन् २०२३ मा विश्वभर विभिन्न क्रिकेटका प्रतियोगिताहरु आयोजना भए । आईसीसी एकदिवसीय विश्वकपले क्रिकेट प्रेमीहरुका लागि थप उर्जा थपिदियो । आईसीसी एकदिवसीय विश्वकपको उपाधि अस्ट्रेलियाले चुम्यो । उपाधि अस्ट्रेलियाले चुमेको भएपनि भारतका खेलाडीहरु वर्षभर चर्चामा रहे ।

आईसीसीका दुई प्रतियोगिताको फाइनलमा टीम इण्डियाले हार बेहोरे पनि ब्याट्सम्यान र बलरहरू वर्षभर दबदबामा रहे। अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै फम्र्याट (टेष्ट, एकदिवसीय र टी–२०) मा सर्वाधिक रन बनाउने खेलाडीमध्ये शुभमन गिल र विराट कोहली शीर्ष २ मा रहेका छन् । योसँगै सर्वाधिक विकेट लिने खेलाडीमध्ये रविन्द्र जडेजा पहिलो र कुलदीप यादव दोस्रो स्थानमा छन् ।

शुभमनका लागि यो वर्ष उत्कृष्ट रह्यो । उनले तीनवटै फम्र्याटमा जम्मा ४८ खेल खेलेका छन् । शुभमनले ४६.८२ को औसतमा २१५४ रन बनाएका छन् । यस अवधिमा उनले सात शतक र १० अर्धशतक पनि प्रहार गरेका थिए । कोहलीको नाममा ३५ खेलमा २०४८ रन रहेको छ। उनको औसत ६६.०६ थियो। विराटले ८ शतक र १० अर्धशतक प्रहार गरेका छन् ।

यसैगरी, बलरको कुरा गर्दा जडेजाले ३५ खेलमा ६६ विकेट लिएका थिए भने कुलदीप यादवले ३९ खेलमा ६३ विकेट लिएका छन् ।

 

टेस्टमा अष्ट्रेलियाली खेलाडीको दबदबा :

यो वर्ष टेस्ट क्रिकेटमा अष्ट्रेलियाली खेलाडीहरू सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा बढी विकेट लिनेमा शीर्ष स्थानमा रहे।
अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान उस्मान ख्वाजाले १३ टेस्टमा सर्वाधिक १२१० रन बनाएका छन् । स्टिभ स्मिथ १३ टेस्टमा ९२९ रन बनाएर दोस्रो स्थानमा रहेका छन् । यस्तै, ट्राभिस हेड १२ खेलमा ९१९ रन बनाएर तेस्रो र मार्नस लाबुसचेन १३ खेलमा ८०३ रन बनाएर तेस्रो स्थानमा रहेका छन् । इंग्ल्याण्डका जो रुटले आठ खेलमा ७८७ रन बनाएर पाँचौं स्थानमा रहेका छन् भने भारतका विराट कोहलीले आठ खेलमा ६७२ रन बनाएका छन् ।

बलरको कुरा गर्दा अष्ट्रेलियाका तीन खेलाडी शीर्ष ५ मा परेका छन् । नाथन लियोनले १० खेलमा सर्वाधिक ४७ विकेट लिएका छन् । उनीपछि अष्ट्रेलियाका कप्तान प्याट कमिन्स दोस्रो स्थानमा छन् । कमिन्सले ११ खेलमा ४२ विकेट लिएका छन् । भारतीय स्पिनर रविचन्द्रन आश्विन तेस्रो नम्बरमा छन् । उनले सात खेलमा ४१ विकेट लिएका छन् । इंग्ल्याण्डका स्टुअर्ट ब्रोडले ८ खेलमा ३८ विकेट लिएका छन् भने अष्ट्रेलियाका मिचेल स्टार्कले ९ खेलमा ३८ विकेट लिएका छन् । रविन्द्र जडेजा सात खेलमा ३३ विकेट लिएर छैटौं स्थानमा रहेका छन् ।

एकदिवसीयमा भारतीय खेलाडीको दबदबा :

एकदिवसीयमा भारतीय खेलाडीको दबदबा देखिएको छ । एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउनेको तालिकामा शीर्ष ३ मा भारतीय खेलाडीकै नाम समावेश छ । शुभमन गिलले २९ खेलमा १५८४ रन बनाएका छन् । विराट कोहलीको नाममा २७ खेलमा १३७७ रन छ । योसँगै कप्तान रोहित शर्माले २७ खेलमा १२५५ रन बनाएका छन् । शुभमनले पाँच, कोहलीले छ र रोहितले दुई शतक बनाए । न्यूजिल्याण्डका डेरिल मिचेलले २६ खेलमा १२०४ रन बनाएका छन् भने श्रीलंकाका पाथुम निसान्काले २९ खेलमा ११५१ रन बनाएका छन् ।

बलरको कुरा गर्ने हो भने शीर्ष स्थानमा भारतीय खेलाडी कुलदीप यादव रहेका छन् । उनले ३० खेलमा सर्वाधिक ४९ विकेट लिएका छन् । त्यस्तै, मोहम्मद सिराजले २५ खेलमा ४४ विकेटलिएका छन् । नेपालका सन्दीप लामिछानेले २१ खेलमा ४३ विकेट लिएका छन् भने पाकिस्तानका शाहिद अफ्रिदीले २१ खेलमा ४२ विकेट लिएका छन् ।

टीट्वान्टीमा कसको दबदबा ?

युएईका मोहम्मद वासिमले २०२३ मा टी–२० मा सर्वाधिक रन बनाएका छन् । उनले २२ खेलमा ८१० रन बनाएका छन् । युगान्डाका आरजी मुकासाले ३१ खेलमा ७३८ रन बनाएका छन् । भारतका सूर्यकुमार यादवले १८ खेलमा ७३३ रन बनाएका छन् ।

बलरको कुरा गर्दा युगान्डाका एआर रमाजानीले ३० खेलमा सर्वाधिक ५५ विकेट लिएका थिए । भारतका लागि अर्शदीप सिंहले २१ खेलमा सर्वाधिक २६ विकेट लिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?