पुलिस पुरुष हक्कीको अन्तिम चारमा प्रवेश

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत रमनको ह्याट्रिकसँगै नेपाल पुलिस पुरुष हक्कीको सेमिफाइनलमा प्रवेश गरेको छ । 

मंगल माबिमा भएको अन्तिम लिगको खेलमा रमन रानाको चार गोलको मद्दतले पुलिसले प्रदेश २ माथि ६–० को फराकिलो जित निकालेको हो । खेलको २१ औँ मिनेटमा टिमलाई अग्रता दिलाएका रमनले ३६ औँ  र ४५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

ह्याट्रिक गरेलगत्तै ४७ औँ मिनेटमा चौथो गोल गरेपछि उनले टिमलाई मजबूत अवस्थामा पु-याएका हुन् । यसैगरी टिमका लागि खेलको ३८ औँ मिनेटमा योगेश कुमार बालझारे र ५३ औँ मिनेटमा केशवराज जोशीले समान एक–एक गोल थपेका थिए ।

समूह ‘ए’ मा चार अंक रहेको प्रदेश २ का लागि उपबिजेताको रुपमा सेमिफाइनल प्रवेश गर्न पुलिसलाई कम्तिमा पनि ५ गोल अन्तरले हराउनु पर्ने समिकरण बनेको थियो । सेमिफाइनल प्रवेशका लागि उक्त खेलको नतिजामा भर परेको आर्मी भने प्रदेश २ को हारसँगै उपविजेताको रुपमा सेमिफाइनल पुगेको छ ।

समूह ‘ए’ को विजेता पुलिसले समूह ‘बी’ को उपविजेता सुदूरपश्चिम प्रदेशसँग तथा समूह ‘बी’ को विजेता प्रदेश ५ ले आर्मीसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

महिलामा गण्डकी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । गण्डकीले प्रदेश २ लाई २–० गोलले पराजित ग-यो । सविना पुन राना र करुणा दर्लामी मगरले गोल गरे । यो समूहबाट अर्को टोलीको टुंगो लाग्न बाँकी छ । मंगलवार हुने प्रदेश १ र प्रदेश २ बीचको विजेता सेमिफाइनलमा पुग्ने छ ।

समूह ‘ए’ को लिग खेलमा आर्मी र प्रदेश ७ ले १–१ गोलको बराबरी खेले । प्रदेश ७ की अनिता श्रेष्ठले २७ औँ मिनेटमा गोल गरिन् । ४८ औँ मिनेटमा आर्मीकी दिलकुमार घलेले बराबरी गोल फर्काइन् । बराबरीसँगै गोलअन्तरका आधारमा प्रदेश ७ विजेता तथा आर्मी उपविजेताका हैसियतले सेमिफाइनल पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?