ओलम्पिक टर्च लाईट लुम्बिनीमा

लुम्बिनी  । आठौँ राष्ट्रिय खेलकुदको उदघाटनका क्रममा प्रज्वलन गरिने ओलम्पिक टर्च बुद्धजन्मस्थल लुम्बिनी आई पुगेको छ । 

प्रदेश नम्बर १ को बिराटनगरबाट चैत्र २९ गते ओलम्पिक टर्च यात्रा शुरु भएको थियो । बिराटनगरमा यस अघि राष्ट्रिय खेलकुदको सातौँ सस्करण आयोजना भएको थियो । बिराटनगरबाट टर्च लिएर हिडेका चार जना ओलम्पियनहरु जीतबहादुर केसी, डम्बर कुँवर,, विकास राना मगर र मेनुका राउत सोमबार लुम्बिनी आईपुगेका हुन् ।  

चारै जना ओलम्पियनहरुले बुद्धजन्मस्थल लुम्बिनीमा रहेको बिश्वशान्ति दीपको ज्योति ओलम्पिक टर्चमा प्रज्वलीत गर्दै  लुम्बिनी क्षेत्र परिक्रमा गरी गन्तब्य तर्फ प्रस्थान गरेका थिए । यस अघि राष्ट्रिय खेलकुद प्रतियोगिताको धनगढीमा सम्पन्न छैठौँ सस्करणमा पनि बैकुन्ठ मानन्धर सहितका ५ ओलम्पियनहरुले शान्ति दीपको ज्योति धनगढीसम्म पु-याएका थिए । 

लुम्बिनीबाट शान्ति दीप ज्योति सहितको ओलम्पिक टर्च बोकेर ओलम्पीयनहरु ५ गते प्रदेश नम्बर पाँचको नेपालगन्जमा हुने आठौँ राष्ट्रिय खेलकुदको उदघाटन स्थलमा पुग्नेछन् ।

उक्त टर्चलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्दै त्यहा रहेको ज्योतिमा प्रज्वलित गरेपछि आठौँ राष्ट्रिय खेलकुदको विधिवत शुरुवात हुने राष्ट्रिय खेलकुदको प्रचार प्रसार उप समितिका संयोजक रोहित दाहालले बताए ।

यसअघि ओलम्पिक टर्च प्रदेश १ को बिराटनगर, २ को जनकपुर, ३ को हेटौडा, चितवन, प्रदेश ४ को पोखरा, ५ को लुम्बिनी, भैरहवा, बुटवल पुगेको थियो । अब टर्च प्रदेश ६ को सुर्खेत , प्रदेश ७ को धनगढी हुदै ५ गते नेपालगन्ज पुग्ने छ  ।

ओलम्पिक टर्च लाईट सातै प्रदेशका राजधानी तथा मुख्य शहरमा परीक्रमा गराइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?