च्याम्पियन्स लिग : युभेन्ट्स बाहिरियो, एजाक्स अन्तिम चारमा

एजेन्सी । इटालियन क्लब यभेन्ट्स ‘युइएफए’ च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

मंगलवार राति सम्पन्न भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा युभेन्ट्स डच क्लब एजाक्ससँग २-१ गोल अन्तरले पराजित भयो । समग्रमा युभेन्ट्स एजाक्ससँग ३-२ गोल अन्तरले पराजित हुँदै जारी लिगको क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

खेलको २८ औँ मिनेटमा युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । रोनाल्डोले गोल गरेपछि निक्कै आक्रामक खेल खेलेको एजाक्सका लागि ३४ औँ मिनेटमा डोनी भान डि विकले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

पहिलो हाफसम्म बराबरीमा रोकिएको एजाक्सले दोस्रो हाफमा थप एक गोल थप्यो । ६७ औँ मिनेटमा एजाक्सका कप्तान डि लिग्टले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल भएन र खेल एजाक्सले २-१ ले आफ्नो पक्षमा पा-र्यो । 

स्पेनी क्लब रियल म्याड्रिडलाई पाँच पटकसम्म च्याम्पियन्स लिगको उपाधि दिलाएका रोनाल्डोको क्लब युभेन्ट्स भने यो सिजनमा क्वाटरफाइनलबाटै बाहिरिएको छ । जितपछि एजाक्स भने सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब फाइनल प्रवेशको लागि एजाक्सले इंग्लिस क्लब म्यान्चेस्टर सिटी र टोट्नह्यामबीचको विजेतासँग भिड्ने छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?