मन्दिर पुनःनिर्माणका लागि एक करोड सङ्कलन

  गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँ इनारपानीस्थित परमेश्वर राम मन्दिरको पुनःनिर्माणका लागि  एक करोड १० लाख सङ्कलन भएको छ । 

मन्दिर पुनःनिर्माणका लागि चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना गरिएको श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञमा एक करोड १० लाख सङ्कलन भएको महायज्ञ आयोजक समितिले जनाएको छ ।

ब्रम्हालीन श्री एक हजार आठ स्वामी परमानन्द सरस्वतीको जन्मथलो परमेश्वर राम मन्दिर इनारपानी पौवाडाँडामा विसं २०७२ को विनाशकारी भूकम्पले ठूलो क्षति पु¥याएको थियो । 

भूकम्पले भत्काएको मन्दिर पुनःनिर्माणका लागि आर्थिक अभाव भएका कारण महायज्ञको आयोजना गरिएको हो । भूकम्पका कारण राम मन्दिरको कुटी, वाचनालय, धर्मशालालगायतका संरचना पूर्णरूपमा ध्वस्त पारेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष टीकाराम कँडेलले बताए । 

मन्दिरको विकासका लागि धार्मिक व्यक्ति, सङ्घसंस्थाले स्वेच्छिकरूपमा पुनःनिर्माणका लागि सहयोग प्रदान गरेका हुन् । 

चैतेदशैँमा २७ लाख भेटी सङ्कलन

चैतेदशैँमा बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्न आउने भक्तजनले चढाएको भेटीबाट २७ लाख दुई हजार ५३ सङ्कलन भएको छ । दशैँको १० दिनसम्म  मन्दिरमा पूजाआजा गर्ने भक्तजनले सो भेटी चढाएका हुन् । 

देशमै प्रसिद्ध यस शक्तिपिठमा यही चैत २३ गतेदेखि वैशाख २ गतेसम्म विशेष पूजा चलेको थियो ।

मन्दिर परिसरमा सञ्चालित चैत्राष्टमी मेलाका कारण पनि भक्तजनको वृद्धि भएको थियो । सबैभन्दा बढी अष्टमीका दिन ६ लाख १६ हजार ६२० सङ्कलन भएको कालिका भगवती मन्दिर गुठी समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए । 

भाकल गर्ने भक्तजनले बलि चढाएका बोका, राँगा, कुखुराको मुढ ‘टाउको’ बिक्रीबाट प्राप्त हुने रकम पनि मूलभेटीमा चढ्ने गरेको अध्यक्ष खड्काले बताए । मनोकाङ्क्षा पूरा हुने विश्वासमा पूजाका लागि देशका विभिन्न भाग तथा छिमेकी मुलुक भारतबाट भक्तजन यस मन्दिरमा आउने गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?