काठमाडौं । आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हक्कीमा नेपाल आर्मी च्याम्पियन बनेको छ ।
नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको फाइनल खेलमा आर्मीले हक्कीमा पहिलो पटक टिम सहभागी गराएको प्रहरीलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित ग-यो । पेनाल्टीमा आर्मीबाट नरेन्द्र अधिकारी, प्रदीप राजवंशी, अमितकुमार श्रीवास्तव र दीपेन्द्र ऐरले गोल गरे ।
प्रहरीका केशवराज जोशीले मात्र गोल गर्न सफल भए । त्यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । ११ औँ मिनेटमा प्रदीप राजवंशीले आर्मीलाई अग्रता दिलाएका थिए । ४५ औँ मिनेटमा रोमन रानाले बराबरी गोल फर्काए ।
रोमनले प्रतियोगिताभर १५ गोल गरे । प्रदेश ५ ले प्रदेश ७ लाई ३–० गोलले हराउँदै तेश्रो भयो । मनीष गुरुङ, शशि दर्लामी र रविकान्त कुमारले गोल गरे । प्रतियोगितामा ९ टिम सहभागी थिए ।
महिलामा प्रदेश ७ र गण्डकी प्रदेशबीच उपाधि भिडन्त हुने भएको छ । प्रदेश ७ ले प्रदेश २ लाई ५–१ गोलले पाखा लगायो । विजेताका अन्जु गुरुङ र अनिता श्रेष्ठले २–२ तथा दमरा भट्टले १ गोल गरे । प्रदेश २ बाट मधुकुमारीले सान्त्वना गोल फर्काइन् ।
अर्को सेमिफाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले हरायो । देविका विकले निर्णायक गोल गरिन् । प्रतियोगिता बिहीवार सम्पन्न हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया