बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा प्रदेश ४ का रुपक नेपाली र आर्मीकी मञ्जु विकले स्वर्ण पदक जितेका छन् ।
खुल्ला तौलसमूहको पुरुषमा रुपक र महिलामा मञ्जु च्याम्पियन बनेका हुन् । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको फाइनलमा रुपकले प्रदेश १ का विनोद निरौलाबाट वाक ओभर पाए । अघिल्लो खेलमा विनोद घाइते भएकाले वाक ओभर दिएका हुन् । मन्जुले फाइनलमा प्रदेश १ की सुजाता राईलाई हराइन् ।
पुरुष ६५ केजीमा प्रदेश ४ का गोविन्द रोकाले प्रदेश ५ का प्रकाश खड्का, ६० केजीमा प्रदेश ३ का सन्तोषकुमार लामाले प्रदेश २ का विश्व लामा, ५५ केजीमा आर्मीका चोपबहादुर बुढाथोकीले प्रदेश ४ का जीवन गुरुङ, ५० केजीमा प्रदेश ५ का रोमन सिन्जालीले एपीएफका सञ्जय राई र ४५ केजीमा आर्मीका धर्मेन्द्र रामले प्रदेश २ का विशाल कुश्वारलाई फाइनलमा पाखा लगाउँदै स्वर्ण पदक जिते ।
महिला ५५ केजीमा आर्मीकी अनुपमा नेपालीले प्रदेश ४ की प्रिज्मा कुँवर, ५० केजीमा प्रदेश ४ की युनिका शेरचनले आर्मीकी शान्ति थापा मगर र एपीएफकी दीपा शाहीले प्रदेश ४ की सर्गम कुमाललाई पन्छ्याउँदै पहिलो स्थान हात पारे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा पुरुषमा ६ र महिलामा ४ गरी १० स्पर्धा समावेश थिए । ५४ पुरुष र ३६ महिला खेलाडी सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया