काठमाडौं । ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ ( JN.1) नेपालमा पनि पुष्टि भएको छ । जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को सङ्क्रमण नेपालमा पनि पहिलो पटक पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ मा गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन. १ ( JN.1) नेपालमा पहिलो पटक पुष्टि भएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
कोभिड-१९ को नयाँ सब-भेरियन्ट जेएन. १ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयहरूलाई मार्फत आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्नुहुन साथै, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध मन्त्रालयले अनुरोध गरेको छ ।
यस्तै सङ्क्रमण र सङ्क्रमणको फैलावट रोकथाम गर्नका लागि हामी सबै जनस्वास्थ्यको मापदण्डहरू (भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुन पानीले हात धुन) अनिवार्य रूपमा पालना गर्न गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैमा अपिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया