उजेली र उनका ‘बाहुन’ पहिलोपटक मिडियामा, सिरियल खेल्दाको अनुभव लजाउँदै सुनाए (भिडियोसहित )

काठमाडौं । कुनै जमाना यस्तो थियो जब टिभीमा यो हेर्छु, त्यो हेर्छु भन्नलाई कुनै विकल्प थिएन । नेपाल टेलिभिजनबाट प्रशारण हुने समाचार र केही सन्देशमूलक टेलिचलचित्र नै थिए बसिबियाँलोका माध्यम । बच्चादेखि तन्नेरी युवा, वृद्धवृद्धा सबैका लागि ।

बाध्यताले भएपनि त्यसवेला थुप्रै यस्ता कार्यक्रमहरु हेरियो जसको सुगन्ध कालान्तरमा पनि उत्तिकै मगमगाइरहेको छ । नेपाल टेलिभिजनको बगैंचामा मगमगाएका तिनै फूलमध्ये एक थियो ‘उजेली’ टेलिचलचित्र । धेरैजनाका लागि यो बाल्यकालको एउटा यस्तो याद हो जो समयसँगै बुढो भएन । बालविवाहविरुद्ध यूनिसेफिले बनाएको यस टेलिचलचित्रकी मूख्य पात्र ‘उजेली’ मा धेरैजनाले आफ्नै छोरीको छवि देखे त्यसवेला । यसका कुनै न कुनै पात्रमा आफूलाई पाए ।

त्यसवेलाको माहोल र चालचलनको ऐना नै बन्यो यो टेलिचिलचित्र । रसुवामा छायांकन गरिएको यस टेलिचलचित्रमा प्रयोग भएको पश्चिम नेपाली भाषा र गाउँले जीवनको परिदृश्यले दर्शकमा अमिट छाप छोड्यो । 

सन् १९९२ मा बनेको उक्त टेलिचलचित्रको चर्चा चल्न थालेको छ, आजकल । यूनिसेफले आफ्नो फेसबुक पेजमा ‘उजेली’ को एपिसोड हालेपछि उजेली को ‘क्रेज’ सामाजिक सञ्जालमा एकाएक ब्युँतिएको हो । पुराना दर्शकहरुको याद फेरि ताजा भएको छ । कहिल्यै नहेरेकाहरुमा पनि यसको कथा र पात्रहरुको जीवन्त अभिनयले यति प्रभाव पारेको छ कि ती सबै पात्रहरु कहाँ, कस्तो अवस्थामा छन् अहिले भनेर खोजी हुन थालेको छ । 

दर्शकको त्यही जिज्ञासालाई शान्त पार्न लोकपथ टिभी पुगेको छ ‘उजेली’ उर्फ वृन्दा अधिकारी र उनका ‘बाहुन’ अर्थात् टेलिचलचित्रमा श्रीमानको भूमिका निभाएका शशी लम्सालसँग कुराकानी गर्न । टेलिफिल्मपछि फेरि कहिल्यै नभेटेका उनीहरुको भेट २८ वर्षपछि आजै भएको हो ।

२८ वर्ष अघिका केही तीतामीठा अनुभव साथै यस दौरान जीवन केकसरी चलिरहेको छ भन्ने बारेमा लोकपथले गरेको कुराकानी हेर्न भिडियो लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?