‘आइपिएल’ क्रिकेटमा  मुम्बई इण्डियन्स दोस्रो स्थानमा उक्लियो

एजेन्सी । इण्डियन प्रिमियर लिग ‘आइपिएल’ क्रिकेट अन्तर्गत मुम्बई इण्डियन्स विजयी भएको छ । 

फिरोज साह कोट्ला क्रिकेट मैदानमा बिहीवार राति सम्पन्न भएको खेलमा मुम्बईले नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको हो । 

१ सय ६९ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि शिखर धवनले सबैभन्दा बढी ३५ रन जोडे । त्यस्तै अक्षर पटेलले २६ रन, पृथ्वी शले २० रन तथा क्रिस मोरिसले ११ रन बनाए । मुम्बईविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई खेलाएका थिएनन् । 

मुम्बईका राहुल चाहरले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए । 

यसअघि टस  जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रनको योगफल तयार पारेको थियो ।  

मुम्बईका लागि कुर्नाल पाण्डयाले अविजित ३७ रन, क्विनटन डी ककले ३५ रन जोडे । त्यस्तै हार्दिक पाण्डयले ३२ तथा कप्तान रोहित शर्माले ३० रन बनाए । सुर्य कुमार यादबले २६ रन बनाए ।

दिल्लीका कागिसो राबडाले २ विकेट लिए । यो जितसँगै मुम्बई ९ खेलबाट १२ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?