पेलेले पत्थरीको शल्यक्रिया गर्ने

एजेन्सी । ब्राजिलियन फुटबल लिजेन्ड पेलेको मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिने भएको छ । 

साओ पाउलोको एक अस्पतालमा पत्थरीको शल्यक्रिया गरिने भएको छ  । तर, ७८ वर्षीय पेलेको शल्यक्रियाको मिति भने तय गरिएको छैन । 

साओ पाउलोको अल्बर्ट आइन्सटाइन इसराइलाइट अस्पतालले विज्ञप्तिमार्फत भनेको छ, ‘उनको सबै परीक्षण भइसकेको छ र उनी मिर्गौलाको पत्थरी निकाल्न तयार छन् । 

फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ का केलियन एमबाप्पेसँगको एक प्रोमोसनल इभेन्टमा सहभागी हुने क्रममा गत हप्ता पेरिसमा पेले बिरामी परेका थिए । त्यसपछि उनलाई पेरिसकै अस्पतालमा भर्ना गरिएको थियो, त्यहाँ उनको मिर्गौलामा पत्थरी रहेको पत्ता लागेको थियो ।

त्यसपछि उनले ब्राजिल नै फर्केर शल्यक्रिया गर्ने निर्णय गरेका थिए ।  

‘एन्टिबायोटिकले काम गरिरहेको छ र परीक्षणको रिपोर्ट पनि राम्रो आएको छ’, पेरिसमा रहँदै उनले ट्वीट गरेका छन्, ‘मलाई लाग्दैछ, म फेरि खेल्नका लागि तयार हुँदै छु ।’

पेलेको मिर्गौला र मूत्रग्रन्थीमा समस्या देखिँदै आएको छ । विश्वका सर्वकालीन महान् फुटबल खेलाडी पेलेले २१ वर्षको खेल जीवनमा १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८१ गोल गरे । ब्राजिलको जर्सीमा ९१ खेल खेलेका उनले ७७ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?