नर्भिक हस्पिटल भन्छ : ‘हामी सर्वसाधारणकै पहुँचमा आयौँ’

काठमाडौं । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्योपचार दिँदै आएको ‘नर्भिक इन्टरनेशनल हस्पिटल’ ले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा रहेको जनाएको छ । विगतमा उच्च घराहनाका बिरामीको पहुँचमा मात्र सीमितजस्तो देखिएको उक्त अस्पतालले पछिल्ला वर्षमा स्वास्थ्य सेवामा आम सर्वसाधारणको पहुँच अभिवृद्धि गरेको जिकिर गरेको हो ।

उक्त अस्पताल स्थापनको २६ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य सेवामा आधुनिक प्रविधि उपयोगका साथ सर्वसाधरणको पहुँचमा सेवा पु-याउन प्रतिबद्ध भएको जनाइएको छ ।  कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिक प्रत्येक नेपालीले  आफ्नै अस्पतालजस्तो अनुभूति गर्न पाउने उल्लेख गरे । उनले भने, “आजभन्दा १० वर्ष अघि नर्भिक ५० देखि ६० जना उच्च घरानियाँको मात्र पहुँचमा रहेको जस्तोे अवस्था थियो तर अहिले धेरै सङ्ख्यामा मध्यम र तल्लो वर्गका बिरामी पनि यहाँ आउने गरेका छन्, यो हाम्रो सफलता हो किनकी साधारणदेखि जटिल रोगको उपचार तल्लो वा कमजोर वर्गदेखि माथिल्लो तहका व्यक्तिलाई समेत समान सेवा दिने हैसियत बनाएका छौँ ।”  

निजी क्षेत्रको अग्रणी अस्पतालको रुपमा जिकिर गर्दै आएको उक्त अस्पताले  केही जटिल अवस्थाका बाहेक सबैखाले रोगको उपचार सहजरुपमा गर्दै आएको छ । आजभन्दा २५ वर्षअघि जम्मा २५ श्ययामा करीब ५० चिकित्सक र कर्मचारीबाट सेवा शुरु गरेको नर्भिक अहिले १ सय ५० श्ययामा विस्तार हुनाका साथै चिकित्सक र कर्मचारी गरी ९ सयभन्दा बढीले सेवा दिइरहेको जनाएको छ

अस्पतालले करीब दुई अर्बको लगानीमा थापाथलीस्थित ‘नर्भिक हस्पिटल’ परिसरमै २ सय ५० श्ययाको अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्न लागेको र उक्त कार्य आगामी तीन वर्षभित्र सम्पन्न गरिने जनाइएको छ । अस्पतालका अध्यक्ष वसन्त चौधरीले अन्तर्राष्ट्रियस्तरको विश्वसनीय सेवा पु¥याउन आफूहरू प्रतिबद्धताका साथ लागि परेको बताए । केही जटिल रोगबाहेक साधारण र संवेदनशील उपचारका लागि विदेश धाउनुपर्ने बाध्यता अन्त्य भएको उनले उल्लेख गरे ।
    
“अन्तर्राष्ट्रिय प्रविधि र दक्ष जनशक्तिले नै नर्भिकलाई अग्रणी विश्वास दिलाएको छ । यो देशका लागि गौरवको कुरा हो तर सानो रोगका लागि पनि विदेश जाने मोहले दक्ष चिकित्सकको मनोबल गिराउने काम भएको छ, यसले हामीलाई निकै चिन्तित तुल्याएको छ”, अध्यक्ष चौधरीले भने । अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले प्रविधिको दायरा बढाउँदै चिकित्सकीय सेवालाई थप गुणस्तरीय बनाउन लागि परेको बताए । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा यादवकुमार देव भट्ट, अर्थोपेडिक प्रमुख डा प्रवीन नेपाल, वरिष्ठ चिकित्सक प्रा डा रमेशकुमार चोखानी, स्त्री रोग विभागकी प्रा डा अचला वैद्यलगायतले आधुनिक उपकरणयुक्त विशिष्टिकृत सेवा प्रदान गर्न लागिपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?