विराटनगर । प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँगामा १० बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
उद्योगको उद्घाटन समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य माननीय योगेन्द्र मण्डल र प्रदेशसभा सदस्य गयानन्द मण्डलले गरे ।
स्वदेशमै उत्पादन हुने प्राङ्गारिक मलले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको हाहाकारलाई कम गर्ने मण्डलले बताए । ‘यो वर्ष आठ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ, चार लाख टन बाहिरबाट ल्याउँदा ३३ अर्ब खर्च भइसक्यो,’ उनले भने, ‘यसको दीर्घकालिक समाधान सोचिएन भने एक दिन किसानसँग पैसा हुन्छ, तर खाद्यान्न विना बस्नुपर्ने अवस्था आउनसक्छ ।’
युरिया डिएपी जस्ता रासायनिक मलको विकल्पको रुपमा प्राङ्गारिक मल प्रयोग गर्नुपर्ने उनको भनाई छ । ‘युरिया डिएपीको विकल्पको रुपमा प्रयोग गर्नु पर्छ, सिक्किमले रासायनिक मल निषेध गरिसक्यो,’ उनले भने, ‘हामीले तीन ठाउँमा प्राङ्गारिक मलको प्रयोग गर्दा युरिया डिएपी बराबरकै धान फल्यो, त्यहाँ कुनै रोगब्यादी पनि लागेन ।’
राज्यले योजना बनाउने हो भने तीन वर्षमा नेपाललाई रासायनिक मल मुक्त गर्न सकिने उनको भनाई छ । ‘युरिया डिएपी खरिदका लागि छुट्याएको बजेट बराबरको लगानी गरे तीन वर्ष भित्र पर्याप्त प्राङ्गरिक मल उत्पादन हुन्छ,’ उनले भने,‘ उत्पादन लागत सस्तो छ, प्रभावकारिता रासायनिक मल बराबर छ, फाइदा धेरै हुन्छ ।’
कोशी प्रदेश सांसद गयानन्द मण्डलले प्राङ्गरिक मलको प्रयोगमा राज्यले किसानलाई सहयोग गर्ने बताए । उनले भने ‘रासायनिक मलबाट मुक्त हुन प्राङ्गरिक मलको प्रयोग आवश्यक छ,’
१० करोड लागतमा जीवन विकासले स्थापना गरेको उद्योगको क्षमता दैनिक आठ टनसम्म प्राङ्गरिक मल उत्पादन गर्नेछ । १५० सिलिन्डर बायोग्यास उत्पादन गर्ने क्षमता छ ।
उद्योगबाट बायोग्यास भन्दा पनि मल उत्पादनमा जोड दिएको उद्योगका प्रमुख उपेन्द्रकुमार मण्डलले बताए । उनका अनुसार ४० टन कच्चा पदार्थ प्रयोग गर्दा ८ टन प्राङ्गरिक मल र १५० सिलिन्डर बायोग्यास उत्पादन हुन्छ ।
सोही क्रममा किसानले उत्पादन गरेको दूध सङ्कलनका लागि जीवन विकास डेरीको दूध संकलन केन्द्रको पनि उद्घाटन गरिएको थियो ।
सिलिन्डरमा बायोग्यास
संस्थाले तीन हजार घनमिटरको डाइजेस्ट उद्योगबाट प्राङ्गरिक मलसँगै बायोग्यास पनि उत्पादन गरिरहेको छ । यसरी उत्पादन भएको बायोग्यास विराटनगरका दुई डेरीले प्रयोग गर्छन् ।
मण्डलका अनुसार हाल दैनिक ६ किलो दरका ३० सिलिन्डर ग्यास उत्पादन हुन्छ । खुद कार्बन उत्सर्जन कम गर्ने अभियान अन्तरगत उत्पादन सुरु गरेको बायोग्यास एलपीजी ग्यास भन्दा सस्तो रहेको उनको दाबी छ ।
ग्यास र मल उत्पादनका लागि उद्योगले किसानबाट गोबर र अन्य कच्चा पदार्थ खरिद गरिरहेको छ । बायोग्यास प्रमुख मण्डलका अनुसार उद्योगका लागि विराटनगर र आसपासमा रहेका गाई भैँसी फर्मबाट गोबर संकलन हुन्छ ।
संकलन भएको गोबरसहितका कच्चा पदार्थबाट उत्पादित ग्यासलाई पाइपलाइनबाट प्युरीफीकेसन हुँदै स्वचालित कम्प्रेसर मेसिनबाट सिलिन्डरमा ग्यास भरिन्छ । यसरी उत्पादन भएको ग्यास जीवन विकास डेरी र दूध वाला डेरी फर्मले प्रयोग गर्छ । ती उद्योगले एलपीजी ग्यास र दाउरा प्रयोग गर्न छाडेका छन् । दूध वाला डेरीका सञ्चालक बिक्की अग्रवालले एलपीजी ग्यासको तुलनामा बायोग्यास निकै सस्तो भएकाले उत्पादन लागत कम भएको बताए ।
‘एलपीजी भन्दा सस्तो छ, प्रभावकारिता उस्तै छ,’उनले भने,‘ साना तथा मझौला उद्योगका लागि प्रभावकारी भयो, सिलिन्डर ठूलो भएका कारण घरका लागि चाहिँ प्रयोग गर्न गाह्रो छ ।’
जीवन विकास डेरी उद्योगका प्रमुख विजय मण्डलका अनुसार बायोग्यासको प्रयोगले उत्पादन लागत कम गरेको छ । प्रयोग गर्न पनि सहज भएको उनको अनुभव छ । ‘पहिला हामी दाउरा प्रयोग गथ्र्यौँ, जसका लागि एउटा लेबर छुट्टै चाहिन्थ्यो,’उनले भने,‘बायोग्यास जोडेपछि लेबर कष्ट जोगियो, काम गर्न पनि सजिलो भयो, दूध स्टीम(तताउन) गर्न धेरै छिटो हुन्छ, धुवा धुलोरहित पनि भयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया