रशिलाले जितिन् ऐतिहासिक स्वर्ण पदक

दाङ । त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले जारी आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टनतर्फ स्वर्ण पदक जितेकी हुन् । 

महर्जनले ४० औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलमा स्वर्ण पदक हात पारेकी हुन् । 

घोराहीस्थित कभर्डहलमा शनिवार भएको खेलमा उनले आफ्नै क्लबकी नङसल देवी तामाङलाई १९-२१, २१-१४ र  २४-२२ को सेटमा पराजित गर्दै ऐतिहासिक जित निकालेकी हुन् ।  
जारी प्रतियोगितामा स्वर्ण पदक जित्दै च्याम्पियन बनेसँगै उनी नेपाली ब्याडमिन्टनको इतिहासमा राष्ट्रिय च्याम्पियन बन्ने सबैभन्दा कान्छी खेलाडी समेत बनेकी छिन् । 

त्यस्तै राष्ट्रिय खो खोमा  भने आर्मीले दोहोरो जित हात पारेको छ । पुरुषमा आर्मीले प्रदेश ५ लाई १८–१६ र महिलामा प्रदेश १ लाई २९–० ले पराजित ग-यो । पुरुषको अर्को खेलमा एपीएफले प्रदेश ४ लाई १४–५ ले हरायो ।

महिलाको अन्य खेलमा प्रदेश ३ ले प्रदेश ४ लाई १९–१३, प्रदेश ५ ले प्रदेश ६ लाई २५–३ र प्रदेश ७ ले प्रदेश २ लाई १२–४ ले निराश पारे ।
यता राष्ट्रिय सेपाकताक्रोको रेगुमा आर्मीले दुई स्वर्ण जितेको छ । आर्मी पुरुष र महिला दुवैमा पहिलो भयो ।

बर्दियाको गुलरियामा भएको पुरुष फाइनलमा आर्मीले गण्डकीलाई २३–२५, २१–४ र २१–१६ ले पराजित ग-यो । रोशन तामाङ, सूर्यकुमार चौधरी, अनिल जर्घा मगर, दिपेशजंग थापा र उमेश महतोले प्रतिस्पर्धा गरेका थिए । प्रदेश ३ ले सुदूरलाई २–० ले हराउँदै तेश्रो भयो ।

महिलाको फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१५ र २१–१० ले पाखा लगायो । आर्मीको टिममा चन्द्रा चौधरी, सोममाया थापा मगर, सुमित्रा डंगोल, इनु चौधरी र रुथ श्रेष्ठ छन् । गण्डकीले सुदूरलाई २–० ले पन्छ्याउँदै तेश्रो भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?