आठौँ राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङको खेल शुरु

पोखरा । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पहिलो दिन एक्यूरेसी र क्रसकन्ट्रीतर्फका पहिलो राउण्डका खेलहरु सकिएको छ । 

पहिलो दिनको खेलमा पुरुष एक्यूरेसी र क्रसकन्ट्री टिम र दुबै इभेन्टका इन्डिभिजुअलतर्फ मिश्रित परिणाम आएको छ । 

टिम एक्यूरेसीतर्फ नेपाली सेना १ सय ७ अंकका साथ प्रथम स्थानमा रहेको छ । त्यस्तै गण्डकी प्रदेश १ सय ८५ अंकका साथ दोश्रो र ३ सय ३१ अंकका साथ प्रदेश नम्बर १ तेश्रो स्थानमा छ । 
त्यसै गरि सुदुर पश्चिम प्रदेश ११ सय ७० अंकका साथ चौथो, १८ सय ९६ अंकका साथ प्रदेश ३ पाँचौ र ३१ सय ३५ अंक बटुल्दै कर्णाली प्रदेश छैटौँ स्थानमा छ । 

इन्डिभिजुअल एक्यूरेसी पुरुषतर्फ  नेपाली सेनाका सागर नेपाली ८ अंकका साथ प्रथम स्थान बनाउन सफल भएका छन् । यता गण्डकी प्रदेशका अनिष भट्टराईले दोश्रो स्थानमा रहँदै ११ अंक बटुलेका छन् । त्यसै गरि नेपाली सेनाका सागर जलारी ५०१ अंकका साथ तेश्रो स्थानमा रहेका छन् ।

महिला इन्डिभिजुअल एक्यूरेसीमा गण्डकी प्रदेशकी सबिता तामाङ २ सय ७४ अंकका साथ अगाडी रहेकी छन् । प्रदेश नं ३ की बिबी सिङताङ ३ सय ६१ अंकका साथ दोश्रो स्थानमा रहेकी छन ।  तेश्रो स्थानमा गण्डकी प्रदेशकी ५ सय १ अंकका साथ प्रतिभा बोगटी रहेकी छन ।

 तामाङ र बोगटी १८ औँ एशियाली खेलकुदमा सहभागी भएका खेलाडी समेत हुन् ।  

पहिलो दिन भएको क्रसकन्ट्रि ‘एक्सी’ इभेन्टतर्फ पहिलो राउण्डमा ३२ किलोमिटर टास्क सम्पन्न भएको छ । उक्त इभेन्टमा ३ महिला र १९ पुरुष सहित कूल २२ जना खेलाडी सहभागी थिए । 

क्रस कन्ट्रितर्फ सहभागी जनाएका २२ खेलाडी मध्ये पुरुष इन्डिभिजुअल खुल्लातर्फ प्रदेश ३ का कृष्ण बहादुर सुनुवार ९ सय ७२ अंक हासिल गर्दै पहिलो स्थानमा छन् ।

यसै गरि नेपाली सेनाका विशाल थापा ९ सय ६ अंकका साथ दोश्रो स्थान र गण्डकी प्रदेशका शेर बहादुर गुरुङ ९ सय ६ अंकका साथ तेश्रो स्थानमा रहेका छन । दोश्रो स्थानका बिशाल १८ औँ एशियाली खेलकुदमा रजत पदक जितेका थिए । 

त्यस्तै क्रसकन्ट्रि महिला इन्डिभिजुअलमा गण्डकी प्रदेशकी त्रिशा बमजन तामाङ २ सय ३१ अंकका साथ पहिलो स्थान बनाएकी छन् । नेपाली सेनाकी स्वस्तिका गुरुङ २६ अंकका साथ दोश्रो र प्रदेश १ की सुष्मिता सुनुवार २४ अंकका साथ तेश्रो स्थानमा छन् । 

यसै गरि टिम क्रस कन्ट्रितर्फ भने गण्डकी प्रदेशले अग्र स्थान बनाउन सफल भएको छ । गण्डकी प्रदेश ३२ सय ९९ अंकका साथ पहिलो स्थान बनाएको हो । प्रदेश ३ ले ३१ सय ५९ अंकका साथ दोश्रो र नेपाली सेनाले २७ सय १७ अंकका साथ तेश्रो स्थान बनाएको छ । 

पहिलो दिनको खेल निकै प्रतिष्पर्धात्मक र उच्च स्तरको रहेको नेपाली टिमका मुख्य प्रशिक्षक एवम नेपाल हवाई खेलकुद संस्था ‘ना’ का अध्यक्ष योगश भट्टराईले बताए । 

नेपालको खेल इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश भएको खेलमा विभागिय टिम नेपाली सेना र ५ प्रदेश गरि कुल ६ टिमका ५९ जना गरि खेलाडी सहभागी रहेका छन । प्रतियोगिता बैशाख ९ गते सम्पन्न हुने प्रतियोगितामा एक्युरेसीतर्फ ५ राउण्ड र क्रस कन्ट्रितर्फ ३ राउण्ड प्रतिष्पर्धा गराइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?